काठमाडौँमा रात्रिकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न निर्देशन, देखाइयो निर्वाचन सुरक्षा कारण

काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू आगामी फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्म राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै जिल्लाभर सञ्चालन हुने रात्रिकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राती ९ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचना अनुसार काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू आगामी फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

प्रशासनले तोकिएको समय (राती ९:०० बजे) पश्चात् सम्पूर्ण व्यवसायहरू अनिवार्य रूपमा बन्द गर्न र गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको र सोही अन्तर्गत यो कदम चालिएको सूचनामा उल्लेख छ । यो नियम पालना नगर्ने व्यवसायीहरूलाई कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ ।