११ महिनामै सवा १६ खर्बको व्यापार घाटा, आयात १५ प्रतिशतले बढ्दा २ खर्बको निर्यात

तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो ।

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा मुलुकको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले निर्यातमा सुधार देखिए पनि आयातको तीव्र वृद्धिका कारण व्यापार घाटा नियन्त्रणबाहिर जान थालेको संकेत गरेको छ ।

तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । आयातमा देखिएको यो उच्च वृद्धिले आन्तरिक उत्पादन कमजोर रहँदा उपभोग र उत्पादनका लागि विदेशी वस्तुमाथिको निर्भरता अझै बढिरहेको देखाएको छ ।

निर्याततर्फ भने केही सकारात्मक संकेत देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.२८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँमा सीमित थियो। यद्यपि निर्यातमा भएको वृद्धि आयातको तुलनामा कमजोर रहेकाले व्यापार सन्तुलन सुधार्न पर्याप्त हुन सकेको छैन ।

आयात र निर्यात दुवै बढेसँगै नेपालको कुल वैदेशिक व्यापारको आकार पनि विस्तार भएको छ। समीक्षा अवधिमा कुल व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा कुल व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

व्यापार घाटासँगै आयात–निर्यात अनुपात पनि थप असन्तुलित बनेको छ। गत आर्थिक वर्षको साउन–जेठ अवधिमा ६.६४ रहेको आयात–निर्यात अनुपात चालु आर्थिक वर्षमा बढेर ६.८१ पुगेको छ ।

लगातार बढ्दो व्यापार घाटाले नेपालको उत्पादन क्षमता, निर्यात प्रतिस्पर्धा र विदेशी मुद्राको दीर्घकालीन स्थायित्वबारे प्रश्न उठाएको छ ।