६ महानगरको ५४ अर्ब अर्ब बढीको बजेट: काठमाडौं एक्लैले ओगट्यो झण्डै आधा हिस्सा

बजेटको आकारका आधारमा काठमाडौं महानगरपालिका २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँसहित सबैभन्दा ठूलो बजेट ल्याउने महानगर बनेको छ भने विराटनगर महानगरपालिका ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेटसहित सबैभन्दा सानो आकारमा देखिएको छ ।

काठमाडौँ । देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५४ अर्ब २ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार महानगरपालिकाहरूले बजेट सार्वजनिक गरेका हुन् ।

बजेटको आकारका आधारमा काठमाडौं महानगरपालिका २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँसहित सबैभन्दा ठूलो बजेट ल्याउने महानगर बनेको छ भने विराटनगर महानगरपालिका ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेटसहित सबैभन्दा सानो आकारमा देखिएको छ । ललितपुरले ७ अर्ब ४८ करोड ८७ लाख, पोखराले ७ अर्ब १५ करोड २५ लाख, भरतपुरले ५ अर्ब ५१ करोड ७० लाख तथा वीरगञ्जले ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । छ महानगरपालिकाले सार्वजनिक गरेको कुल ५४ अर्ब २ करोड ९३ लाख रुपैयाँ बजेटमध्ये काठमाडौं महानगरपालिकाको हिस्सा मात्रै करिब ४८ प्रतिशत रहेको छ ।

काठमाडौंको बजेटमा पूर्वाधारलाई उच्च प्राथमिकता

काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको अनुमानित बजेट पेस गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् । चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजारको स्रोत अनुमान गरिएको छ, त्यसैगरी जनसहभागिता बापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ 

क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

ललितपुरको जोड सम्पदा संरक्षण र वातावरणमा

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का ७ अर्ब ४८ करोड ८७ लाखको बजेट ल्याएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् । जस अनुसार चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख रहेको छ । महानगरले जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको जनाएको छ । जसमध्ये चालुतर्फ ७२ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत खर्च भएको छ । महानगरले आगामी वर्षका लागि स्थानीय कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्धन विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवर्धन जस्ता विषयलाई प्राथमिकता दिएको छ ।

पोखराको लक्ष्य ‘समुन्नत पर्यटकीय पोखरा’

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ ।समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित महानगरपालिकाले चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत छ । बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । जसमा सशर्त अनुदानबापत २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, पूरक अनुदान १ करोड ८२ लाख, र समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ समावेश छन् । यस्तै, गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। जसमा समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख, र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ छ । महानगरले आगामी वर्ष आन्तरिक र अन्य स्रोतहरूबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। जस्व बाँडफाँटतर्फ संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त भई कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटको स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँट गरेर ३ अर्ब १३ करोड र महानगरको आन्तरिक आयबाट ५ अर्ब २२ करोड रुपैयाँ बेहोर्ने अनुमान गरिएको थियो।

भरतपुरमा क्रिकेट रंगशाला र खानेपानीमा विशेष जोड

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले महानगरको १९औँ नगर सभामा प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट पेस गरेका हुन् । महानगरपालिकाको चालु आर्थिक वर्षको बजेट ५ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।बजेटको स्रोततर्फ महानगरले आन्तरिक आयबाट २ अर्ब ४ करोड रुपैयाँ संकलन हुने प्रक्षेपण गरेको छ । संघीय र प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब १७ करोड ७३ लाख ९८ हजार, संघीय राजस्व बाँडफाँटबाट ३३ करोड १२ लाख ६४ हजार, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट ४ करोड, जनसहभागिताबाट ३ करोड, बैंक मौज्दात ७४ करोड ५० लाख र सडक बोर्ड नेपालबाट १ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । सामाजिक सुरक्षा लगायतका अन्तर–सरकारी अख्तियारी शीर्षकमा १ अर्ब २५ करोड खर्च हुने अनुमान छ ।

बजेटमा विगतका वर्षहरूमा सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका योजनाहरू पूरा गर्न ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक मर्मत र खाल्डाखुल्टी व्यवस्थापनका लागि ६ करोड, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि १४ करोड र नयाँ भवनको आन्तरिक कामका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । महानगरका २९ वटा वडाका वडास्तरीय आयोजनाहरूका लागि कुल ९४ करोड ९० लाख बजेट छुट्ट्याइएको छ । शिक्षा क्षेत्रको गुणस्तर सुधार र विभिन्न शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि ११ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्तालाई महसुल छुट दिन २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगञ्जको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सरसफाइ्

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । बुधबार महानगरको नगरसभाको २० औं अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाखको आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् । वीरगन्ज महानगरको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख अर्थात् ५४.३ प्रतिशत तथा पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख अर्थात् ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड,संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ । बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाई व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ ।

विराटनगरको प्राथमिकता पूर्वाधार विकास

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार ३ अर्ब ५६ करोड ४७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार १८ औँ नगर सभामा अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष ४ अर्ब ४० करोडको अनुमानित बजेट सार्वजनिक गरेको थियो । महानगरले पछि त्यसलाई संशोधन गरेर ३ अर्ब ६८ करोड २८ लाखमा सीमित गरेको थियो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ । यसैगरी आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ, बैंक मौज्दातबाट १४ करोड र विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ । महानगरले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । यसका लागि १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, नगरस्तरीय योजनाका लागि ६० करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख ३२ हजार र बहुवर्षीय गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ । मर्मत–सम्भारमा १० करोड र फोहोरपानी प्रशोधनमा २ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षातर्फ १० करोड ९ लाख २८ हजार र स्वास्थ्यतर्फ ७ करोड ३ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ ।