इरान युद्ध अघिकै अवस्थामा कच्चा तेलको मूल्य, नेपालमा पेट्रोल र डिजेलको भाउ दशैंसम्म घट्ने अनुमान
घटेको मूल्यमा तेल किनिए पनि तत्कालै उपभोक्ता घटेकै मूल्य बेच्ने सम्भावना कम रहन्छ किनभने नेपाल आयल निगमले अहिले घाटा खाएर सस्तोमा तेल बेचिरहेको छ । निगमले आफ्नो घाटा पूर्ति भएपछि मात्र नयाँ मूल्य निर्धारण गर्ने सम्भावना रहन्छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर इरान युद्ध सुरु हनुअघिको स्तरमा फर्किएको छ । बिहीबार बेन्चमार्क ब्रेन्ट क्रुड आयल प्रति ब्यारेल ७२ डलरसम्म झरेको छ । बिहीबारको मूल्य इरान युद्ध सुरु हुनुभन्दा अघिल्लो दिन (फेब्रुअरी २७) को ७२.२९ डलर प्रतिव्यारेल हाराहारी हो । शुक्रबार पनि त्यही मूल्य हाराहारीमा अन्तर्राष्ट्रिय बजारमा कारोबार भईरहेको छ ।
गत जुन १७ मा सम्झौता अमेरिका इरानबीच स्विट्जरल्याण्डमा भएको शान्ति वार्तापछि इरानले तेल निर्यातमा लगाएको प्रतिवन्ध खुकुलो बनाएको छ । अमेरिका र इरानबीच प्रारम्भिक सहमति भएसँगै अमेरिकाले इरानी तेल निर्यातमा लगाएको प्रतिबन्ध आंशिक रूपमा हटाएको र इरानले पनि प्रतिबन्ध खुकुलो भएसँगै हर्मुज जलडमरू मार्ग खुला गरेको थियो । जसले गर्दा हर्मुजबाट जहाजहरु आवतजावत गर्ने संख्या बढ्दा तेलको आपूर्ति बढ्न गई विश्वबजारमा मूल्यमा निरन्तर गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपाली उपभोक्ताले भने पेट्रोल पम्पमा उच्च मूल्य तिर्नु परिरहेको छ । जानकारहरुका अनुसार अहिले नेपालले ल्याईरहेको तेल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ११० डलर (भारतीय रिफाइनरीहरूका लागि करिब १२५ डलर) रहेको बेला खरिद गरिएको हो । ७२ डलरमा खरिद गरिएको तेल पम्पहरूमा आईपुक्ष्न करिब साढे दुई महिनाको समय लाग्ने बताईन्छ । हालको सस्तो मूल्यमा खरिद गरिएको तेल उत्पादक मुलुकका बन्दरगाहमा लोड गर्न १५ देखि २० दिन लाग्छ । त्यहाँबाट भारतीय बन्दरगाहसम्म ढुवानी हुन ५५ देखि ६० दिन लाग्छ । बन्दरगाहबाट रिफाइनरी (शोधनशाला) मा आए नेपाली पेट्रोल पम्पसम्म आईपुग्न थप एक साताको समय लाग्ने सम्भावना रहन्छ । यसरी कच्चा तेल खरिदको सम्पूर्ण प्रक्रिया (सप्लाई चेन चक्र) पूरा हुन ७५ देखि ८० दिन लाग्ने बताइृन्छ । तर, त्यसका लागि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्नु हुँदैन । इरान अमेरिका युद्ध साँच्चिकै शान्तिमा रुपान्तरण भएको खण्डमा भने २ देखी साढे २ महिनासम्म नयाँ घटेको मूल्यमा नेपाली उपभोक्ताहरुले पेट्रोल र डिजेलजस्ता इन्धनको उपयोग गर्न पाउनेछन् ।
यद्यपी घटेको मूल्य तेल किनिए पनि तत्कालै उपभोक्ता घटेकै मूल्य बेच्ने सम्भावना कम रहन्छ किनभने नेपाल आयल निगमले अहिले घाटा खाएर सस्तोमा तेल बेचिरहेको छ । निगमले आफ्नो घाटा पूर्ति भएपछि मात्र नयाँ मूल्य निर्धारण गर्ने सम्भावना रहन्छ । उता, सरकारले प्रतिलिटर १० रुपैयाँ अन्तःशुल्कमा गरेको समायोजन पुनः थप्न सक्छ । त्यो रकम पनि पूर्ति भएपछि मात्र नयाँ मूल्य तय हुनसक्छ । त्यसैले उपभोक्ताले नेपालको सबैभन्दा ठूलो पर्व बडा दशैं वा आगामी अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुआततिर मात्र इन्धनको मूल्यमा केही राहत अनुभव गर्न सक्छन् ।