२ महिनादेखि २७०० बिन्दुमै घुमिरहेको सेयर बजार, बजेटको प्रभाव नदेखिँदा मौद्रिक नीतिले के होला?

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो दुई महिनादेखि २७ बिन्दुमा मात्रै सीमित छ । गत वैशाख ९ गते २८०४.१७ बिन्दुमामा बन्द भएको नेप्से त्यसयताका कुनै पनि कारोबार दिनमा पुनः २८०० बिन्दुमाथि उक्लिन सकेको छैन र २७०० बिन्दुभन्दा तल पनि झरेको छैन । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से २७०२.११ बिन्दुमा कायम भएको छ ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिए पनि लगानीकर्ताको आत्मविश्वास अपेक्षाअनुसार फर्किन नसक्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्पष्ट दिशा समात्न सकेको छैन ।  

गत वैशाख ९ गते २८०४.१७ अंकमा बन्द भएको नेप्से त्यसयताका कुनै पनि कारोबार दिनमा पुनः २८०० अंकमाथि उक्लिन सकेको छैन । बैशाख १० गते २७८७ विन्दुमा नेप्से पुग्दा ४ अर्ब ९९ करोड ५३ लाख रुपैया बराबरको कारोबार भएको थियो । वैशाख १४ गते सबैभन्दा उच्च २७९६.४३ अंकसम्म पुगेको बजार त्यसपछि निरन्तर उतारचढावका बीच सीमित दायरामै घुमिरहेको छ । यस अवधिमा सबैभन्दा न्यून बिन्दु असार २ गते २७०५.४५ अंकमा झरेको थियो । राजनीतिक स्थिरता, सुधारोन्मुख आर्थिक सूचक तथा बजारलाई प्रत्यक्ष असर पार्ने कुनै कठोर नीतिगत व्यवस्था नआएको अवस्थामा पनि नेप्सेले अपेक्षित गति लिन नसक्नुले लगानीकर्तामाझ विभिन्न प्रश्नहरू उठाएको छ ।

२७ सयको बिन्दुमा नेप्से पुगेदेखि कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । बैशाख १५ मा ६ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो यो नै बैशाख १० गतेदेखि २७ सयको बिन्दुमा घुमिरहेको नेप्सेको उच्च कारोबार रकम हो । जेठ ४ मा भने सबैभन्दा कम २ अर्ब ४२ करोड ३३ लाख रुपैँया बराबरको सेयर कारोबार भएको थियो । निर्वाचनपछि अर्थात् २०८२ चैत ८ मा भने नेप्सेमा कुल २३ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

फागुन २१ गतेको निर्वाचनपछि दुई तिहाइ हाराहारीको समर्थनसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको छ । राजनीतिक अस्थिरताको जोखिम न्यून देखिए पनि बजारले त्यसको सकारात्मक प्रभाव ग्रहण गर्न सकेको छैन । सरकार गठनअघि गत चैत १२ गते २९५० अंकको उचाइमा पुगेको नेप्से हाल त्यस स्तरभन्दा करिब २५० अंक तल कारोबार भइरहेको छ ।

सेयर बजार विश्लेषक केशव कोइरालाका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा लामो समयदेखि अध्यक्ष नियुक्त हुन नसक्नु नै बजार स्थिर रहनुको प्रमुख कारण बनेको छ । उनका अनुसार नयाँ सरकार गठन भइसके पनि नियामक निकाय नेतृत्वविहीन रहँदा लगानीकर्तामा अन्योल कायमै छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत इन्साइडर ट्रेडिङ तथा सर्कुलर ट्रेडिङजस्ता गतिविधिमाथि छानबिन र कारबाहीलाई तीव्र बनाउने घोषणा गरेपछि विशेषगरी ठूला लगानीकर्ता ‘वेट एन्ड वाच’को अवस्थामा पुगेका छन् ।

कोइरालाका अनुसार सेबोनमा नयाँ नेतृत्व आएपछि नियामक निकायले कस्तो प्रकारको छानबिन र कारबाही अघि बढाउँछ भन्ने स्पष्ट नभएसम्म धेरै लगानीकर्ताले थप लगानी गर्न चाहेका छैनन् । यही कारण बजारमा नयाँ पुँजीको प्रवाह अपेक्षाअनुसार हुन नसकेको उनको विश्लेषण छ । यद्यपि बजारमा बिक्रीको दबाब क्रमशः कम हुँदै गएकाले नेप्से २७ सय अंकभन्दा तल झर्न नसकेको उनले बताए । तर नयाँ लगानीकर्ता र संस्थागत तथा ठूला पुँजी बजारमा प्रवेश नगर्दा सूचक माथिल्लो दिशामा पनि अघि बढ्न नसकेको उनको भनाइ छ । बजारलाई नयाँ दिशा दिन सरकारले यथाशीघ्र धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसपछि मात्रै लगानीकर्ताको विश्वास पुनः स्थापित हुन सक्ने र बजारले स्पष्ट गति लिन सक्ने बताए ।

यता सेयर बजारका जानकार दीपक कार्कीले लगानीकर्ताको मनोबल कमजोर बन्दै जानु र त्यसलाई पुनःस्थापित गर्न सरकार असफल हुनु अहिलेको प्रमुख चुनौती भएको बताएका छन् । उनका अनुसार बजारप्रति विश्वास जगाउने स्पष्ट र सकारात्मक सन्देश सरकारबाट आउन नसक्दा लगानीकर्ता अन्योलमा परेका छन् । बजारमा हुने छानबिन र अनुसन्धानप्रति लगानीकर्ताको कुनै आपत्ति नभए पनि त्यस्ता विषयलाई सार्वजनिक रूपमा अत्यधिक प्रचार गरिनुले नकारात्मक मनोविज्ञान सिर्जना भएको उनको तर्क छ ।

कार्कीका अनुसार सरकारले पुँजी बजारप्रति आफू सकारात्मक रहेको र लगानीकर्ताले अनावश्यक रूपमा त्रसित हुनुपर्ने अवस्था नरहेको सन्देश स्पष्ट रूपमा दिन आवश्यक छ । उनले सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहनु तथा सिफारिस भएका उम्मेदवारहरूप्रति समेत विश्वासको वातावरण बन्न नसक्नुले नियामक निकायमाथि विभिन्न प्रश्न उठाएको बताए । यसले बजारमा बिचौलिया प्रभावको चर्चा समेत बढाएको उनको भनाइ छ ।

उनले धितोपत्र बोर्डजस्तो संवेदनशील संस्थामा नेतृत्व नियुक्त गर्न सरकारले नसक्नु र मन्त्रालयका कर्मचारीमार्फत काम चलाउने प्रवृत्तिले लगानीकर्ताको विश्वासमा थप क्षय ल्याएको उल्लेख गरे। त्यस्तै, पूँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) सम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनले पनि लगानीकर्तालाई सकारात्मक सन्देश दिन नसकेको उनको धारणा छ । अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको र बजार अपेक्षाकृत स्थिर बन्दै गएको अवस्थामा करसम्बन्धी विषयमा पुनरावलोकन गर्न सकिने भए पनि अहिलेको समयमा त्यस्तो निर्णय उपयुक्त नदेखिएको उनले बताए ।

कार्कीका अनुसार बजार अहिले स्पष्ट दिशाको प्रतीक्षामा छ । सरकारबाट बजारमैत्री नीति, स्पष्ट प्रतिबद्धता र नियामक निकायमा नेतृत्व नियुक्तिको ठोस कदम नआएसम्म लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीतिमै रहने सम्भावना छ । पुँजी बजार सरकारको आर्थिक नीतिको महत्वपूर्ण आधारस्तम्भ भएकाले यसलाई लामो समयसम्म अन्योलमा राख्नु समग्र अर्थतन्त्रका लागि समेत सकारात्मक संकेत नहुने उनको निष्कर्ष छ । 

त्यस्तै अर्का सेयर लगानीकर्ता तथा बजार विश्लेषक डम्मरु वल्लभ घिमिरेले ठूला लगानीकर्तामाथि भइरहेको कारबाही, राजनीतिक अन्योल र आगामी मौद्रिक नीतिप्रतिको प्रतीक्षाका कारण सेयर बजार लामो समयदेखि स्थिर अवस्थामा रहेको बताएका छन्।

घिमिरेले बजारका लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए। उनका अनुसार दीपक भट्टलगायत ठूला लगानीकर्तासँग सम्बन्धित घटनाक्रमले बजारमा मनोवैज्ञानिक प्रभाव पारेको छ।

“लगानीकर्ताहरू अहिले अवस्था सामान्य बन्छ कि, अझ थप कारबाहीहरू अगाडि बढ्छन् भन्ने अन्योलमा छन्। त्यसैले बजारमा नयाँ लगानीको उत्साह देखिएको छैन,” उनले भने।

घिमिरेका अनुसार आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक वित्तीय विवरण सार्वजनिक हुने भएकाले पनि लगानीकर्ताहरू प्रतिक्षामा बसेका छन्। कम्पनीहरूको वित्तीय अवस्था कस्तो देखिन्छ भन्ने कुराले बजारको आगामी दिशा निर्धारण गर्ने उनको भनाइ छ।

उनले नेप्से सूचकमा सामान्य उतारचढाव भए पनि कारोबार रकम उल्लेख्य रूपमा बढ्न नसकेको बताए। “बजार दिगो रूपमा बढ्न कारोबार रकम बढ्नुपर्छ। दैनिक २० अर्ब रुपैयाँभन्दा माथि कारोबार हुनुपर्ने अवस्थामा अहिले ४(५ अर्ब रुपैयाँमै सीमित छ,” उनले भने।

घिमिरेले आगामी मौद्रिक नीतिलाई पनि बजारको प्रमुख प्रतीक्षाको विषयका रूपमा उल्लेख गरे। बजेटपछि आउने मौद्रिक नीति कति लचिलो वा कसिलो हुन्छ भन्ने आधारमा बजारले नयाँ दिशा लिन सक्ने उनको विश्लेषण छ।

उनले पछिल्लो समय सम्पत्ति शुद्धीकरण तथा अन्य अनुसन्धानका नाममा लगानीकर्तामाथि बढेको निगरानीले पनि बजारमा त्रास सिर्जना गरेको बताए। “एक व्यक्तिमाथि भएको कारबाही भोलि आफूहरूमाथि पनि पर्न सक्छ भन्ने मनोविज्ञान लगानीकर्तामा देखिएको छ,” उनले भने।

सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै घिमिरेले लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यवहारमा देखिन नसकेको बताए। उनले पूँजी बजारसँग सम्बन्धित निकायहरूमा नेतृत्व नियुक्ति लगायतका विषयमा भइरहेको ढिलाइले लगानीकर्ताको विश्वास कमजोर बनाएको धारणा राखे।

सरकारले स्पष्ट र लगानीमैत्री नीति नल्याए बजारमा थप दबाब पर्न सक्ने चेतावनी समेत उनले दिएका छन्। अहिले नेपाल धितोपत्र बोर्डले नेतृत्व पाइसकेल अब भने यहि कारण पनि बजार सकारात्मक बन्नसक्ने धारणा राखिरहेका छन् ।