बालेनको वाचापत्र: भूमिहीन र सुकुमबासी समस्या समाधान, दमकलाई आईटी हब बनाउने प्रतिबद्धता

बालेनले भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गरी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गर्दै रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र यस क्षेत्रको भूमि सम्बन्धी समस्याको न्यायोचित र दिगो समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले सोमबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । उक्त वाचापत्रमा उनले ९ वटा मुख्य प्रतिबद्धतासहित भूमिहीन र सुकुमबासी समस्या समाधानका ठोस योजनाहरू अघि सारेका छन् ।

बालेनले भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गरी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गर्दै रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र यस क्षेत्रको भूमि सम्बन्धी समस्याको न्यायोचित र दिगो समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उक्त वाचा पत्रमा दमकलाई पूर्वी नेपालकै सूचना प्रविधिको केन्द्र (आईटी हब) बनाउनेदेखि विद्यालयहरूमा स्मार्ट कक्षा सञ्चालन गर्नेसम्मका योजनाहरू अघि सारिएका छन् । यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण र नीतिगत व्यवस्थालाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । यसबाट स्थानीय तहमा प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

सुशासन अन्तर्गत सरकारी सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन गुनासो दर्ता प्रणाली लागु गर्ने योजना अघि सारिएको छ। साथै सार्वजनिक विकास निर्माणका कार्यहरूको प्रगति नागरिकले प्रत्यक्ष हेर्न मिल्ने गरी डिजिटल ड्याशबोर्ड सञ्चालनमा ल्याउने वाचा पत्रमा उल्लेख छ । यसले भ्रष्टाचार न्यूनीकरण र सार्वजनिक काममा पारदर्शिता ल्याउने दाबी गरिएको छ ।

यसका साथै ग्रामीण तथा सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई सञ्चारको पहुँच पुर्‍याउन भरपर्दो र नियमित मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ ।

शिक्षा क्षेत्रलाई आधुनिक बनाउन सामुदायिक विद्यालयहरूमा स्मार्ट कक्षा र कम्प्युटर ल्याबहरूको स्थापना गरिने उल्लेख छ । त्यस्तै ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने र दमक-१० मा रहेको साइन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि वाचा पत्रमा समेटिएको छ ।

त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरणका लागि लिफ्ट सिँचाई जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने र किसानहरूलाई प्रविधिमा आधारित अनुदान प्रणालीमा समेट्ने योजना बालेनले अघि सारेका छन् ।

सहरी क्षेत्रको मुख्य समस्याका रूपमा रहेका फोहोरमैला व्यवस्थापन, ट्राफिक जाम र पार्किङको समस्या समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको छ । साथै, कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनको बजार व्यवस्थापन र किसानका लागि बीमा तथा अनुदानका कार्यक्रमहरू पनि उनको योजनामा समेटिएका छन् ।

स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा “घर घर स्वास्थ्य सेवा कार्यक्रम” र अस्पतालहरूको सेवा सुधारलाई साहले विशेष महत्व दिएका छन् । महिला हिंसा अन्त्य, सुशासनको प्रत्याभूति र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने उनको संकल्प रहेको छ ।

“जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ” भन्दै उनले नागरिकको मौलिक हकको रक्षाका लागि आफू सधैं तत्पर रहने विश्वास दिलाएका छन् ।

निर्वाचन आचार संहिताको व्यवस्था अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोको आधारमा प्रचार प्रसार गर्नुपर्ने हुन्छ । रास्वपाले पार्टीको तर्फबाट यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ भने उम्मेदवारको रूपमा बालेनको घोषणापत्र सोमबार पार्टीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।

यसरी सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धताको कार्य प्रगति प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत आचारसंहिताले गरेको छ ।