प्रधानमन्त्रीले भने– आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन, ५ वर्ष राखेर सल्लाह गरिन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मुलुकको हित र सुशासनका लागि आवश्यक परे जस्तोसुकै कदम चाल्न र कानुनी लडाइँ लड्न सरकार तयार रहेको स्पष्ट पारे ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी सम्पत्तिको दोहन गर्ने र विगतमा फट्याइँ गर्नेहरू विरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मुलुकको हित र सुशासनका लागि आवश्यक परे जस्तोसुकै कदम चाल्न र कानुनी लडाइँ लड्न सरकार तयार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार कानुनी दायराभित्रै रहेर अघि बढ्ने प्रतिबद्धता जनाए । विगतका अनियमितता र भ्रष्टाचारका फाइलहरू खोल्ने सन्दर्भमा संवैधानिक निकायहरूसँग दीर्घकालीन सहकार्य गर्न सरकार पछि नहट्ने उनको भनाइ थियो "निहुँ खोज्दै गर्दा अख्तियारसँग ५ घण्टा सोधपुछ वा सल्लाह गर्नुपर्छ भने, ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ," प्रधानमन्त्री शाहले दृढता व्यक्त गर्दै भने, "तर हामी नियम भन्दा बाहिर भने कत्ति पनि जाँदैनौँ।"

आफ्नो पार्टी (रास्वपा) विशुद्ध 'विकासवादी' र परिणाममुखी भएको जिकिर गर्दै उनले सरकारको प्राथमिकता राजनीतिक प्रतिशोध नभई समृद्धि रहेको स्पष्ट पारे । "हामी प्रतिशोध साँध्न पुराना कुरा कोट्याएर मात्रै बस्ने होइनौँ, यो अगाडि बढ्ने र काम गर्ने पार्टी हो," प्रधानमन्त्री शाहले थपे, "तर अगाडि बढ्ने क्रममा यदि विगतमा सरकारी सम्पत्तिको दोहन र बदमासी भएको भेटिएमा, त्यस्ता तत्वहरूसँग निहुँ खोज्न र कारबाहीको दायरामा ल्याउन पटक्कै हिचकिचाउने छैनौँ।"