रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छ, अब विद्रोहलाई रुपान्तरणमा बदल्नुपर्छ: उपसभापति वाग्ले

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् ।

उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए । डा. वाग्लेले इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ भन्दै आफुहरुले त्यस्तै अत्यन्त दुर्लभ अवसर पाएको बताए । उनले अब विद्रोहलाई रुपान्तरणमा बदल्नुपर्नेमा जोड दिएका छन् । उनले विगतका राजनीतिक परिवर्तनले लोकतन्त्र र संविधान ल्याए पनि अपेक्षित रूपमा संस्थागत गुणस्तर विकास हुन नसकेको टिप्पणी गरे। निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो, संविधान बने तर संस्था बलिया भएनन्, भन्दै उनले राज्य क्षमता र सार्वजनिक सेवाको गुणस्तर अपेक्षित रूपमा सुधार हुन नसकेको बताए। वाग्लेले नेपालमा समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको तर्क पनि गरे। उनका अनुसार इमानदार मानिसका लागि राजनीति कठिन र पहुँचवालाका लागि सहज हुने व्यवस्था बनेको छ, जसले अस्वस्थ राजनीतिक र आर्थिक संस्कारलाई बढावा दिएको छ।