हाम्रो गाडी एक्सप्रेस वे मा छ, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ: प्रधानमन्त्री बालेन

गन्तव्यमा पुग्नुअघि ब्रेक लाग्नु जरुरी नभएको उनले बताए । उनले आफू नेतृत्वको सरकारको गाडी अनियन्त्रित पनि नभएको जिकिर गरे ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू नेतृत्वको सरकारको गति र स्थायित्वबारे संशय नलिन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारको 'गाडी' सही नियन्त्रणमा रहेको र यो गन्तव्यमा पुगेर मात्रै रोकिने दाबी गरे।

सोही समारोहमा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सरकारको कार्यशैलीप्रति लक्षित गर्दै "गाडीमा एक्सिलेटर मात्रै नभई बेलाबेलामा ब्रेक पनि लाग्नुपर्ने" टिप्पणी गरेका थिए। ज्ञवालीको उक्त भनाइको तत्काल जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकार कुनै 'लोकल रोड' मा नभई 'एक्सप्रेस वे' मा गुडिरहेको स्पष्ट पारे। "त्यस्तो चिन्ता (ब्रेक लगाउनुपर्ने) चाहिँ लोकल रोडमा सिधा गइरहँदा कहिले लेफ्ट, कहिले राइटबाट मान्छे आउँदा हुन्छ," प्रधानमन्त्री शाहले भने, "हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, यो एक्सप्रेस वेमा छ। त्यसैले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, बीचैमा ब्रेक लाग्नु जरुरी छैन।"

प्रधानमन्त्री शाहले सरकारको गति अनियन्त्रित नरहेको जिकिर गर्दै हालको राजनीतिक वातावरण र सहकार्य अनुकूल रहेको समेत बताए। वर्तमान सत्ता समीकरण र दलहरूबीचको समझदारी मजबुत रहेकाले सरकारको निरन्तरता र लक्ष्यप्राप्तिमा कुनै शंका नगर्न उनले नेता-कार्यकर्ताहरूलाई आश्वस्त पारेका छन्।