मार्जिन कारोबार र सेयर धितो कर्जामा के फरक छ?
काठमाडौं । मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनमा लैजाने अन्तिम तयारी गरेको हो । बोर्डले २०८२ मंसिर ८ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ (प्रारम्भिक मस्यौदा) तयार गर्दै सात दिनभित्र राय सुझाव पेस गर्न आग्रह गरेको थियो ।
त्यसपछि हाल बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनको अन्तिम तयारी गरेको सेबोनले जानकारी दिएको छ ।
सेयर धितो कर्जा र मार्जिन कारोबार दुई अलग विषय हुन् । तथापि, नेपालमा मार्जिन कारोबार नहुने भएकाले सेयर धितो कर्जा र मार्जिन कारोबारलाई एकै रुपमा बुझ्ने र परिभाषित गर्ने गरिन्छ । अझ भनौं, मार्जिन कारोबार लागू नभएकाले सेयर धितो कर्जालाई नै मार्जिन कारोबारको रुपमा बुझेको पाइन्छ ।
साधारणतया सेयरमा लगानी गर्नका लागि बैंकबाट लिने कर्जा सेयर धितो कर्जा हो भने सोही प्रयोजनका लागि स्टक ब्रोकर कम्पनीबाट सेयर खरिद बिक्रीको लागि उपलब्ध गराउने सीमा मार्जिन कारोबार हो । यसरी उपलब्ध गराउने मार्जिन सीमामा लगानीकर्ताले सेयर खरिद गर्छ र उसले लिएको सीमाअनुसार ब्याज भुत्तानी गर्नुपर्ने हुन्छ । यी दुईबीच आधारभूत र व्यावहारिक रुपमै थुप्रै भिन्नता छ ।
नेपालको कानुनी व्यवस्था बमोजिम बैंकले कुनै पनि व्यक्तिलाई सेयर कारोबारका लागि कर्जा उपलब्ध गराउन सक्छ, उक्त कर्जा नै सेयर धितो कर्जा हो । बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ ।
बैंकले धितोमा राख्ने सेयरको मूल्यांकन (भ्यालुएसन) गरेर त्यसको जोखिम मूल्यांकन गरी कर्जा उपलब्ध गराउँछ । लगानीकर्ताले आफ्नो पुँजी लगानी नगरी बैंकबाट लिएको कर्जाबाट नै सेयर कारोबार गर्ने काम यसमा हुन्छ ।
त्यस्तै, मार्जिन कारोबार भने ब्रोकर कम्पनीहरूमार्फत् लिइने कर्जा हो । यसमा ब्रोकरको कर्जा मात्रै नभएर लगानीकर्ताले पनि केही हिस्सा पुँजी लगाउनुपर्ने हुन्छ । जस्तैः तपाईंले कुनै एक कम्पनीको एक लाख रुपैयाँको सेयर खरिद गर्न लाग्नु भएको छ भने त्यो पूरा एक लाख रुपैयाँ कर्जाको रुपमा तपाईंले पाउनु हुन्न ।
अर्थात्, सेयर धितो कर्जाजस्तो एक लाख रुपैयाँ कर्जा लिएर आफ्नो पुँजी नलगाई सोही एक लाखको सेयर खरिद गर्न तपाईंले यसमा पाउनु हुन्न । एक लाखको निश्चित प्रतिशत पुँजी तपाईंले पनि लगाउनुपर्ने हुन्छ, जसलाई इनिसियल मार्जिन भनिन्छ ।
यदि, एक लाख रुपैयाँको सेयर खरिद गर्दा त्यसको ६० प्रतिशत इनिसियल मार्जिन तोकिएको छ भने सो अनुसारको ६० हजार रुपैयाँ लगानीकर्ता तथा कर्जा लिने व्यक्तिले हाल्नुपर्छ । यसपछि ४० हजार रुपैयाँ भने ब्रोकरले कर्जाको रुपमा प्रवाह गर्दछ ।
यसका अलावा मार्जिन कारोबारमा खरिद गरिएको सेयर व्यक्तिको नाममा मात्रै हुँदैन । यो ब्रोकरको नाममा हुन्छ । मार्जिन कारोबारमा ब्रोकरले कर्जा प्रवाह गरेबापत् निश्चित प्रतिशत ब्याज पनि लिन सक्छ । ब्रोकरले बैंकबाट कर्जा ल्याएर लगानीकर्तालाई प्रवाह गर्ने भएकाले बैंकबाट ल्याएको दरभन्दा केही बढी ब्याज ब्रोकरले लिनुपर्ने अवस्था हुन्छ ।
त्यसैले ब्रोकरले मार्जिन कारोबारका लागि बैंकबाट पाउने कर्जाको ब्याजदरमा सहुलियत नभएमा सेयरधितो कर्जा भन्दा मार्जिन कारोबार महँगो पर्न जान्छ जसले गर्दा लगानीकर्ता आकर्षित नहुन सक्छन् ।
मार्जिन कारोबारमार्फत् खरिद गरिएको सेयरको दैनिक मार्क–टू मार्केट गर्नुपर्ने हुन्छ । ब्रोकरले इक्विटी कति छ? बढिरहेको छ वा घटिरहेको छरु लगायत कुरा मूल्यांकन गर्छ । जस्तै, तपाईंको ६० हजार रुपैयाँ इक्विटी छ भने त्यो बढेको वा घटेको कुन अवस्थामा छ भन्ने कुरा ब्रोकरले निरन्तर हेर्दछ । ब्रोकरले आफ्नो हरेक ग्राहकको खातामा कति रकम बाँकी छ? कति प्रतिशतमा झर्यो वा बढ्योरु भनेर हेर्दछ ।
यदि सेयर मूल्य बढेर गयो भने उक्त सेयर बिक्रीबाट लिएको कर्जा तिर्ने काम हुन्छ । तर, खरिद गरिएको कम्पनीको सेयर मूल्य घटेर मार्जिन कम भयो भने ब्रोकर अप्ठ्यारोमा पर्न सक्छ । यसैले, ब्रोकरले अर्को मेन्टेनान्स मार्जिन भन्ने सीमा पनि तोकेको हुन्छ । यसमा लगानीको तल्लो तहको मार्जिन राखेअनुसार सो बिन्दुसम्म सेयर मूल्य घटेमा मार्जिन कल गरिन्छ ।
सेयर खरिद गर्न बैंकबाट लिएको कर्जामा अर्थात् सेयर धितो कर्जामा भने इक्वीटी राखिएको हुँदैन । उनीहरूले ऋण लिएर सेयरमा लगानी गरेका हुन्छन्। तर, मार्जिन कारोबारमा भने इक्वीटी राखिएको हुन्छ । यस्तै, मार्जिन कारोबार धितोपत्र बोर्डबाट निर्देशित हुन्छ भने सेयर धितो कर्जा राष्ट्र बैंकबाट निर्देशित हुन्छ ।
सेयर धितो कर्जा
सेयर धितो कर्जा लगानीकर्ताले सेयर धितोमा राखेर बैंकबाट लिने कर्जा हो।
सेयर धितो कर्जामा लगानीकर्ता र बैंक प्रत्यक्षरुपमा जोडिन्छन्।
सेयर धितो कर्जामा कर्जा लिएको पूर्ण रकमले सेयर किन्न सकिन्छ। लगानीकर्ताले आफ्नो पुँजी लगाउनु पर्दैन।
सेयर धितो कर्जा राष्ट्र बैंकको व्यवस्था र निर्देशनबाट चल्छ।
सेयर धितो कर्जा बैंकको ब्याजदरअनुसार पाइन्छ।
मार्जिन लेन्डिङ
मार्जिन लेन्डिङ भनेको लगानीकर्ताले ब्रोकरबाट लिने कर्जा हो।
मार्जिन लेन्डिङमा लगानीकर्ता र ब्रोकर प्रत्यक्ष जोडिन्छन्। बैंकले मिडिएटरको काम गर्छ।
मार्जिन लेन्डिङमा इक्विटी तोकिएको हुन्छ। अर्थात् निश्चित प्रतिशत रकम लगानीकर्ताले हाल्नुपर्दछ।
मार्जिन लेन्डिङ धितोपत्र बोर्डको व्यवस्था र निर्देशनबाट चल्छ।
मार्जिन लेन्डिङमा ब्रोकरले बैंकबाट ऋण लिएर लगानीकर्तामा कर्जा दिने बैंकको भन्दा केही महँगो ब्याजदर पर्नसक्छ।
मार्जिन लेन्डिङमा मार्जिन कलको व्यवस्था हुन्छ।
मार्जिन लेन्डिङमा मार्ट टू मार्केटको व्यवस्था हुन्छ।
मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनकाका व्यवस्था
धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’को मस्यौदा तयार गरेको थियो ।
निर्देशनअनुसार कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको सूचिकृत संगठित संस्थाको सेयर मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ ।
मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि बोर्डले तोकेको छ । जसमा चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको धितोपत्र दलाल व्यवसायीले यो सुविधा पाउनेछन् ।
प्रारम्भिक मार्जिन र सम्भार मार्जिन सम्बन्धी व्यवस्थामा धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको सेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ ।
मार्जिन कारोबार सुविधा अन्र्तगत खरिद गरिएको सेयरको विवरण तथा मार्जिन रकमको विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ र प्रारम्भिक मार्जिनको रुपमा लिइएको सेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा मार्कंट टु मार्केटको आधारमा गर्नुपर्नेछ व्यवस्था पनि बोर्डले गरेको छ । तर, उक्त सेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन ।
ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको शेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ भने धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ व्यस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
यसअघि धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो जुन कार्यान्वयन नभएपछि हाल नयाँ निर्देशनको मस्यौदा तयार गरिएको हो । अब यसलाई कार्यान्वयनमा लैजाने तयारी बोर्डले गरेको हो ।