सुस्तायो सेयर बजार: नेप्से २७०० विन्दुमा झर्दा कारोबार रकम ३ अर्ब ४१ करोडमा खुम्चियो

आज नेप्से परिसूचक ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ । बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सकारात्मक भएर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ । बजार सूचकसँगै कारोबार रकम पनि घट्दा समग्र बजार सुस्तिएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ । उपसमूहगत रूपमा १३ मध्ये ५ उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन्। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार समूह सामान्य रूपमा सकारात्मक देखिए पनि अन्य उपसमूह सबैभन्दा बढी ०.८६ प्रतिशतले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

बजार समग्र रूपमा कमजोर देखिए पनि केही कम्पनीमा भने खरीद चाप उच्च रह्यो । एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो । आत्मनिर्भर लघुवित्तको सेयर मूल्य साढे १२ प्रतिशतले बढ्दा बुंगल हाइड्रोपावरको सेयर करिब साढे ८ प्रतिशतले उकालो लागेको छ। तर घट्ने स्टकहरूको गिरावट दर भने ६ प्रतिशतभन्दा कम सीमित रह्यो । कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

 बिहिबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।