नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ४४ करोडमा खुम्चियो; दुई नयाँ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट
गत शुक्रबार बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । गत शुक्रबार बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अंकका आधारमा यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५६.२१ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यी दुबै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ । सोमबार कारोबारमा आएकामध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।