धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको थियो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्को बैठकले भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट गरिएको थियो । अध्यक्ष नियुक्ति गर्न बनाइएको समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको थियो ।

समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको थियो । सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्व खाली थियो । भट्ट श्रेष्ठको बाँकी कार्यालयका लागि नियुक्त भएका हुन् । श्रेष्ठ २०८१ मंसिर १० गते ४ वर्षका लागि बोर्ड अध्यक्ष बनेका थिए । यसको अर्थ भट्ट बोर्डमा २०८५ मंसिर ९ गतेसम्म अर्थात् साढे २ वर्ष बहाल रहनेछन् ।

यसअघि पनि अध्यक्ष छनोटको अन्तिम चरणमा पुगेका भट्ट तेस्रो प्रयासमा सेबोनको नेतृत्वमा पुगेका हुन्। उनले बाँकी रहेको करिब साढे दुई वर्षको कार्यकाल सम्हाल्नेछन्।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा पीएचडी गरेका छन् ।

‘स्टक मार्केट इफिसेन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका भट्टसँग राष्ट्र बैंकमा हुँदा अनुसन्धान, बैंक सुपरिवेक्षण लगायत विभिन्न विभागमा काम गरेको अनुभव छ ।