वार्षिक १८ अर्ब पुँजीगत लाभकर बुझाउने सेयर बजारलाई सरकारको बेवास्ता, यस्तो छ एक दशकको राजस्व विवरण
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा सरकारले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरमार्फत् १४ अर्ब बढी राजस्व प्राप्त गरेको छ । सिडिएसी एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार सरकारले चालु आवको वैशाखसम्ममा कुल १४ अर्ब ३७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको हो ।
सरकारले गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा भने १८ अर्ब ३७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो । तर, पछिल्लो केही समय यता सेयर बजार सुस्त बनेको र कारोबार रकम पनि संकुचनमा धकेलिएकाले गत आवको सरह सरकारले पुँजीगत लाभकर प्राप्त गर्न कठिन हुनसक्ने देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बजारमा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबार उल्लेख्य मात्रामा बढ्दा यस वर्ष पुँजीगत लाभकर पनि १८ अर्ब माथिको भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारमा कुल १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऐतिहासिक कारोबार भएको थियो । त्यसको लगत्तै अर्को वर्ष २०७८/७९ मा कारोबार रकममा केही गिरावट आए तापनि १२ खर्ब २ अर्ब १० करोड रुपैयाँको उच्च कारोबार भयो ।
तर, आर्थिक वर्ष २०७९/८० मा भने नीतिगत परिवर्तन र आर्थिक सुस्तताका कारण सेयर बजारमा ठुलो संकुचन देखियो, जसले गर्दा कारोबार रकम उल्लेख्य रूपमा घटेर ४ खर्ब ६७ अर्ब १३ करोड रुपैयाँमा खुम्चिन पुग्यो । यो गिरावट धेरै समय टिकेन र बजारले पुनः सुधारको लय समात्न थाल्यो ।
फलस्वरुप, आर्थिक वर्ष २०८०/८१ मा कारोबार रकममा वृद्धि भई ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ पुग्यो । गत आर्थिक वर्ष २०८१/८२ मा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको विशाल कारोबार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणा बढी थियो ।
यसरी २०७७/७८ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको पाँच वर्षमा सेयर बजारमा ५९ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । सेयर बजार सकारात्मक भएको र कारोबार रकम पनि राम्रो भएको समयमा सेयर बजारबाट राज्यले प्राप्त गर्ने राजस्व पनि निकै राम्रो हुने गर्दछ ।
तर, सरकारले सेयर बजारलाई प्राथमिकतामा नराख्ने गरेको तथा यस बजारबाट पुँजीगत लाभकरमार्फत् मात्रै प्राप्त गर्ने वार्षिक १८ अर्ब माथिको आम्दानीलाई समेत नजरअन्दाज गरेको भन्दै आलोचना हुने गरेको छ । पछिल्लो समय सेयर कारोबार र बजार परिसूचक निकै संकुचित बन्दै गएकाले पनि बजारप्रति सरकारले चासो नदेखाएको भन्दै थप आलोचनाहरु भइरहेका छन् ।
पछिल्लो १० आर्थिक वर्षमा सरकारले प्राप्त गरेको राजस्व
नेपालको धितोपत्र बजारलाई पनि सरकारी राजस्व संकलनको एक महत्वपूर्ण आधारको रुपमा हेर्न सकिन्छ । सिडिएससीले सार्वजनिक गरेको पछिल्लो एक दशकको अवधिलाई हेर्ने हो भने पुँजीगत लाभकरमार्फत राज्यको ढुकुटीमा ठुलो रकम जम्मा भएको देखिन्छ ।
आर्थिक वर्ष २०७२/७३ मा सरकारलाई पुँजी बजारबाट १ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष राजस्व प्राप्त भएको थियो, जुन त्यसको अर्को वर्ष २०७३/७४ मा थोरै बढेर १ अर्ब ४५ करोड पुगेको थियो । यद्यपि, बीचका केही वर्षहरूमा बजारको उतारचढावका कारण राजस्वमा केही गिरावट आएको देखिन्छ । जसअनुसार आर्थिक वर्ष २०७४/७५ मा ४७ करोड, २०७५/७६ मा ६४ करोड र २०७६/७७ मा ९८ करोड रुपैयाँ मात्रै सरकारले पुँजीगत लाभकरमार्फत् राजस्व प्राप्त गरेको थियो ।
पुँजी बजारमा आएको उत्साहसँगै आर्थिक वर्ष २०७७/७८ पछि भने राजस्व संकलनमा नाटकीय र सकारात्मक परिवर्तन आएको देखिन्छ । सो वर्ष सरकारले अघिल्ला वर्षहरूको तुलनामा निकै ठुलो फड्को मार्दै १५ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गर्न सफल भयो ।
त्यसपछिको वर्ष २०७८/७९ मा ११ अर्ब ४१ करोड रुपैयाँ संकलन भएकोमा २०७९/८० मा बजारमा केही सुस्तता आउँदा यो रकम ३ अर्ब ३८ करोडमा सीमित भयो । तर, फेरि सुधारको लय समात्दै आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १२ करोड र २०८१/८२ मा अहिलेसम्मकै कीर्तिमानी १८ अर्ब १७ करोड रुपैयाँ राजस्व सरकारी कोषमा दाखिल भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको विवरण हेर्दा मात्रै सरकारले १४ अर्ब ३७ करोड रुपैयाँ राजस्व प्राप्त गरिसकेको छ । यसरी विगत १० वर्ष र चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्तसम्म) को तथ्याङ्कलाई समग्रमा हेर्ने हो भने नेपाल सरकारले पुँजी बजारबाट मात्रै कुल ७३ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष राजस्व प्राप्त गरेको देखिन्छ ।
हाल आगामी आर्थिक वर्षको बजेटमार्फत् पुँजीगत लाभकर सीमा पनि बढाइएको छ । बढाएको सीमाअनुसार अब लगानीकर्ताले एक वर्षभन्दा कम अवधिको सेयर खरिदबिक्रीबाट प्राप्त गर्ने नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिको सेयर खरिदबिक्रीबाट प्राप्त गर्ने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ ।
यसअघि भन लगानीकर्ताले एक वर्षभन्दा कम अवधिको सेयर खरिदबिक्रीबाट प्राप्त गर्ने नाफामा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिको सेयर खरिदबिक्रीबाट प्राप्त गर्ने नाफामा ५ प्रतिशत पुँजीगत लाभकर बुझाउँदै आएका थिए ।
बजारमा लगानीकर्ताको बढ्दो सहभागिताबाट थप फाइदा उठाउन सकिने
पछिल्लो केही वर्ष यता सेयर बजारमा सहभागि हुने लगानीकर्ताको संख्या झन् उल्लेख्य मात्रामा बढेर गएको छ । जसका कारण यदि, सरकारले पुँजीबजारलाई चलयमान बनाएको खण्डमा पुँजीगत लाभकरमार्फत् प्राप्त गर्ने रकम मात्रै नभएर अन्य रकमहरु पनि पर्याप्त पाउन सकिने ठाउँ रहेको बजार विश्लेषकहरु बताउँछन् ।
हाल धितोपत्र बजारमा करिब ७९ लाख हितग्राही खाता र करिब ७० लाख मेरो सेयर प्रयोगकर्ता रहेका छन् । करिब साढे ५१ लाख सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेका छन् ।
२०८१ असार मसान्तसम्ममा डिम्याट खाताको संख्या ६३ लाख ९५ हजार रहेकोमा २०८२ असार मसान्तको अन्त्यसम्ममा करिब ९ प्रतिशतले वृद्धि भई ६९ लाख ९७ हजार पुगेको थियो, जुन कुल जनसंख्याको करिब २३.९९ प्रतिशत हो । यसैगरी २०८१ असारको अन्त्यसम्म करिब ५३ लाख ६९ हजार मेरो सेयर खाताको संख्या रहेकोमा २०८२ असारमा समेत करिब ११.३ प्रतिशतले वृद्धि भई ५९ लाख ७६ हजार पुगेको थियो ।
२०८१ असारको अन्त्यसम्ममा धितोपत्रको दोस्रो बजारमा अनलाइन कारोबारका लागि २२ लाख ५८ हजार ४ सय १० रहेकोमा युजर आईडि लिएकोमा समीक्षा वर्षमा उक्त संख्यामा बढोत्तरी आई कुल संख्या २७ लाख ३५ हजार ५ सय ९० पुगेको थियो । यसैगरी धितोपत्रको दोस्रो बजारका कुल लगानीकर्ताको संख्या २०८१ असार मसान्तमा ३७ लाख ८२ हजार ७ सय २० रहेकोमा २०८२ असार मसान्तसम्म ४२ लाख ४८ हजार ४ सय ६९ पुगेको थियो । यसमध्ये २५ लाख ५ हजार ३१ लगानीकर्ताहरू मात्र धितोपत्रको दोस्रो बजार कारोबारमा सक्रिय रहेको संख्या थियो ।
२०७७ पछि सेयर बजारमा चरणबद्ध रुपमा यसरी भित्रिए लगानीकर्ता
नेप्सेका अनुसार २०७७ असार मसान्तसम्म डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या १७ लाख हाराहारी थियो । यसबाट थपिएर आर्थिक वर्ष २०७७/७८ अन्त्यमा डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९२६ पुग्यो । डिम्याट खाता खोल्नेको लर्को यतिमा मात्रै रोकिएन, बरु झनै बढेर आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा ५२ लाख ६० हजार २५१ पुग्यो भने आर्थिक वर्ष २०७९/८० मा उक्त संख्या ५८ लाख २३ हजार पुग्यो ।
आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म यो संख्या झनै बढेर ६२ लाख ७२ हजार ३५१ पुगेको देखिन्छ । जसमध्ये डिम्याट खाता खोल्नेमा पुरुष ३६ लाख ४ हजार ५०७, महिला २६ लाख ६० हजार ६१२, अन्य ५४ र संस्थागत ७ हजार ११५ छन् । यस अवधिसम्ममा बागमती प्रदेशमा सबैभन्दा बढी ३८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.४५ प्रतिशत खाता खुलेका छन्।
कोशी प्रदेशमा १८.८२, गण्डकी प्रदेशमा १२.९२, लुम्बिनी प्रदेशमा ११.५४, मधेश प्रदेशमा ११.१६ र सुदुरपश्चिम प्रदेशमा ६ प्रतिशत डिम्याट खाता खोलेको तथ्यांक छ ।
त्यसैगरी, २०७७ असारसम्ममा मेरो सेयर खाता खोल्नेको संख्या करिब ७ लाख हाराहारी थियो । त्यसबाट बढेर २०७८ को असारमा उक्त संख्या २८ लाख ५१ हजार पुग्यो। नेप्सेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा ४३ लाख ६८ हजार मेरो सेयर खाता खुलेकोमा सो संख्या बढेर २०७९/८० को अन्त्यमा ४७ लाख ४१ पुग्यो । आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म आईपुग्दा यो संख्या ५३ लाख २२ हजार पुगेको देखिन्छ ।
यसका अलावा, दोस्रो बजारमा अनलाइन लगइन (अनलाइन युजरनेम) लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आईडि लिएकोमा २०७८ असारमा सो संख्या ७ लाख ९५ हजार पुग्यो ।
आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा युजर आईडि लिने लगानीकर्ता १४ लाख ८५ हजार पुग्दा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा १७ लाख ६३ हजार कायम भएको देखिन्छ । नेप्सेका अनुसार २०८०/८१ को वैशाख मसान्तसम्ममा यस्तो युजर आईडि लिने लगानीकर्ताको संख्या २२ लाख १६ हजार पुगेको थियो ।
यसबाट बढेर हाल भने धितोपत्र बजारमा करिब ७९ लाख हितग्राही खाता र करिब ७० लाख मेरो सेयर प्रयोगकर्ता रहेका छन् । करिब साढे ५१ लाख सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेका छन् । यसर्थ, यो सहभागितालाई मध्येनजर गर्दै सरकारले पुँजीबजारलाई थप व्यवस्थित र चलयमान बनाएमा यस क्षेत्रबाट प्राप्त गर्ने राजस्व पनि उल्लेख्य मात्रामा सुधार भएर जाने देखिन्छ ।