नेप्सेमा लगातार चौथो दिनको गिरावट: परिसूचक २६५१ विन्दुमा झर्यो, कारोबार रकम डेढ महिनायताकै न्यून
बिहिबार नेप्से परिसूचक ८.५० अंक घटेर २६५१.५२ विन्दुमा झरेको छ । आज २ अर्ब ८३ करोड ८२ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ । बिहीबारको कारोबार रकम डेढ महिनायताकै न्यून हो ।
काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ ।
बिहिबार नेप्से परिसूचक ८.५० अंक घटेर २६५१.५२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ । १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.९६ प्रतिशत घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ८३ करोड ८२ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ । बिहीबारको कारोबार रकम डेढ महिनायताकै न्यून हो । यसअघि जेठ ४ गते २ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सूचक चार महिनाअघिको विन्दुमा आइपुग्दा कारोबार रकम पनि निरन्तर खुम्चिरहेको हो ।
आज पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १३ प्रतिशत बढेको छ । कारोबारमा आएको भुजुङ्ग हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ११.०३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
बिहिबार कारोबारमा आएकामध्ये ८३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ । यस्तै, १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।