सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावरले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।