लगातार पाँच कारोबार दिन घट्यो नेप्से: ३ अर्ब ९४ करोडको कारोबार हुँदा तीन कम्पनीमा पोजेटिभ सर्किट
शुक्रबार नेप्से परिसूचक २.०० अंक घटेर २६४९.५१ विन्दुमा झरेको छ । आज नेप्सेमा कुल ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजले पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
शुक्रबार नेप्से परिसूचक २.०० अंक घटेर २६४९.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ । १३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । स्नो रिभर्स भने आजदेखि कारोबारमा आएको कम्पनी हो । कारोबारमा आएको कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १०.७६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनिको आव ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको सो ऋणपत्र कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को साढे २८ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ ।
शुक्रबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ । यस्तै, २० कम्पनीको मूल्य भने स्थिर छ ।