नेप्सेमा सामान्य अंकको सुधार, ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार

शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ । शुक्रबार नेप्सेमा कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ । १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन बाँकी अरु उपसमूहका परिसूचक पनि सामान्य घटेको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । शुक्रबार नेप्सेमा कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार भने नेप्सेमा कुल ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य १४ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।  त्यस्तै, ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ भने सोपान फर्मास्यूटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

शुक्रबार कारोबारमा आएकामध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।