नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । सालपा विकास बैंकको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ५६ हजार ३४७ पटकको कारोबारमा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको १ करोड २६ लाख २१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

सालपा विकास बैंकको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको सेयरमूल्य यस दिन ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको एनआईबिएल समृद्धि फड २ को इकाईमूल्य यस दिन सर्वाधिक ४.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ ।  । १४० कम्पनीको मूल्य घट्दा ११३ को बढ्यो भने ९ को स्थिर रह्यो ।