निर्जीवन बीमाको व्यापार २२.८२ प्रतिशतले बढ्यो, एनएलजीको छलाङ सबैभन्दा उच्च
नेपाल बीमा प्राधिकरणका अनुसार १५ निर्जीवन बीमा कम्पनीले यस अवधिमा कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरूले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको साउनदेखि असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यापार २२.८२ प्रतिशतले बढेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार १५ निर्जीवन बीमा कम्पनीले यस अवधिमा कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरूले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
कम्पनीगत रूपमा हेर्दा एनएलजी इन्स्योरेन्सको व्यवसाय वृद्धिदर सबैभन्दा उच्च देखिएको छ । कम्पनीले गत वर्षको पहिलो तीन महिनामा १ अर्ब २ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ पुर्याएको छ । यो गत वर्षको तुलनामा ४५.४६ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार ३४.५४ प्रतिशत र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३४.२९ प्रतिशतले बढेको छ । शिखर इन्स्योरेन्सको २९.५४ प्रतिशत, नेको इन्स्योरेन्सको २४.७५ प्रतिशत, दि ओरिएन्टल इन्स्योरेन्सको २४.६० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २२.५२ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यापार २२.५० प्रतिशतले वृद्धि भएको छ ।
कुल बीमाशुल्क संकलनका आधारमा सलिको इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थान कायम गरेको छ । हिमालयन एभरेष्टले १ अर्ब ६० करोड रुपैयाँ, एनएलजीले १ अर्ब ४९ करोड रुपैयाँ र आईजीआई प्रुडेन्सियलले १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।