भारत भ्रमणको तयारीदेखि अयोध्या–जनकपुर रेलसम्म, प्रधानमन्त्री शाहसँग मिस्रीको छलफल
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाएकामा पनि धन्यवाद दिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाएकामा पनि धन्यवाद दिएका छन् । साथै, नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चासो राखेका छन् ।
भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराएका छन् । भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल बनाउन आफूहरूले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
त्यसैगरी, मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराउँदै उनले आजै उक्त मार्गमा रेल परीक्षणसमेत गरिएको बताएका छन् ।