हिमालयन रि–इन्स्योरेन्सको २३ करोड अपचलन मुद्दा, दीपक भट्टसहित २० प्रतिवादीविरुद्ध अभियोग

उनीहरूले हुँदै नभएको ब्रोकर खर्चलाई वित्तीय विवरणमा समावेश गरी कोषको रकम दुरुपयोग गर्न स्वीकृति दिएको भन्दै बीमा ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो दाबी गरिएको छ ।

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४, सम्पत्ति शुद्धीकरण (निवारण) ऐन, २०६४ तथा बीमा ऐन, २०७९ बमोजिम अभियोगपत्र दायर गरेको हो । अभियोगपत्रमा प्रतिवादीहरूबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी सो बराबरको रकम असुल तथा जफत, दोब्बर जरिवाना, कैद सजाय र थप सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

सरकारी वकिलले व्यवसायी दीपक भट्टविरुद्ध बीमा ऐनको दफा १४०(१०)(छ) बमोजिम कम्पनीलाई हानिनोक्सानी पुर्‍याएको कसुरमा २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ । त्यस्तै, अपराधबाट व्यक्तिगत रूपमा लाभ लिएको रकमलाई सेयर तथा अन्य कारोबारमा प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा थप २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी हदैसम्मको सजाय माग गरिएको छ ।

अभियोगपत्रअनुसार हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालक समिति सदस्यहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाषकुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंसल गोयलमाथि फर्जी कारोबारलाई बोर्ड बैठकबाट अनुमोदन गरी रकम दुरुपयोगमा सहयोग गरेको आरोप लगाइएको छ ।

उनीहरूले हुँदै नभएको ब्रोकर खर्चलाई वित्तीय विवरणमा समावेश गरी कोषको रकम दुरुपयोग गर्न स्वीकृति दिएको भन्दै बीमा ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो दाबी गरिएको छ । वित्तीय संस्थाको जिम्मेवार पदाधिकारीका रूपमा उनीहरूलाई थप सजायको मागसमेत गरिएको छ ।

हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्ति, तत्कालीन सीईओ उपासना पौडेल र कार्यकारी निर्देशक मनिषकुमारमाथि कुनै आधार र कामबिना एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई २८ करोड रुपैयाँ पेस्की दिएको तथा २३ करोड ९२ लाख रुपैयाँभन्दा बढी फर्जी खर्च लेखांकन गरी रकम अपचलन गरेको आरोप छ । उनीहरूविरुद्ध पनि बिगो जफत, कैद तथा थप सजायको माग गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि पुनर्बीमा दलाल निर्देशिका, २०७८ विपरीत एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई ब्रोकरको इजाजत दिएर आर्थिक अपराधमा सहयोग गरेको आरोप लगाइएको छ । उनीविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ ।

अभियोगपत्रअनुसार दीपक भट्टले आफ्नो एकल स्वामित्व रहेको ‘इन्फिनिटी होल्डिङ्स’मार्फत मुख्य सेयर हिस्सा रहेको हिमालयन रि–इन्स्योरेन्सको रकम अपचलन गर्ने योजना बनाएका थिए । त्यसका लागि उनले आफ्नी सासू अन्जना नेपालको नाममा ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि’ स्थापना गरेको दाबी अभियोगपत्रमा गरिएको छ ।

हिमालयन रि–इन्स्योरेन्सले ‘प्राविधिक तथा लजिस्टिक सपोर्ट’का नाममा एलियन्टलाई विभिन्न मितिमा कुल २८ करोड रुपैयाँ पेस्की दिएको थियो । त्यसमध्ये ४ करोड रुपैयाँ फिर्ता भएको देखाइएको र बाँकी रकममध्ये २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा फर्छ्यौट देखाउन नक्कली कागजात तयार गरिएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

हिमालयन रिले नेपालका २० जीवन बीमा कम्पनीको पुनर्बीमा व्यवसाय एलियन्ट ब्रोकरमार्फत आएको भन्दै उक्त रकमलाई ‘ब्रोकर कमिसन खर्च’का रूपमा देखाएको थियो । तर, अनुसन्धानका क्रममा नेपाल लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, आईएमई लाइफलगायत २० वटै जीवन बीमा कम्पनीका प्रमुखहरूले आफूहरूले कुनै ब्रोकर प्रयोग नगरेको र एलियन्टसँग कुनै सम्झौता नभएको लिखित बयान दिएपछि कारोबार फर्जी भएको निष्कर्ष निकालिएको अभियोगपत्रमा उल्लेख छ ।

सरकारी वकिलका अनुसार अपराधबाट प्राप्त रकमलाई विभिन्न चरणमा स्थानान्तरण गरी वैध देखाउने प्रयास गरिएको थियो । हिमालयन रिले एलियन्टको खातामा २८ करोड रुपैयाँ पेस्की पठाएपछि २३ करोड ९२ लाख रुपैयाँ फर्जी खर्च देखाएर समायोजन गरिएको थियो । त्यसपछि एलियन्टले रकमलाई वैध आम्दानीका रूपमा देखाएर कर तिरेको र अन्जना नेपाललाई लाभांशका रूपमा वितरण गरेको अभियोगपत्रमा उल्लेख छ ।

अन्जना नेपालको महालक्ष्मी विकास बैंकको खाताबाट दीपक भट्टकी पत्नी आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंकको खातामा २१ करोड १५ लाख रुपैयाँ स्थानान्तरण भएको र त्यसपछि सो रकम दीपक भट्टको व्यक्तिगत खातामा पुगेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

त्यसपछि भट्टले उक्त रकम बैंकिङ ऋण तथा अन्य दायित्व भुक्तानीका लागि शंकरलाल अग्रवाल, साहिल अग्रवाल र जगदम्बा स्टिलको खातामा पठाएको अभियोगपत्रमा उल्लेख छ । यसरी अपराधबाट प्राप्त रकमलाई विभिन्न कारोबारमार्फत वित्तीय प्रणालीमा मिसाएर वैध देखाउने प्रयास गरिएको सरकारी पक्षको दाबी छ ।