पुस १ देखि स्वास्थ्य बीमामा आबद्ध हुन् राष्ट्रिय परिचयपत्र अनिवार्य
बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गअन्तर्गतका सम्पूर्ण बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ ।
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गअन्तर्गतका सम्पूर्ण बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, केवाईसी विवरण अद्यावधिक तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।
यसैगरी, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलले ६० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।
बोर्ड बैठकले ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डका आधारमा दाबी मान्यता दिने निर्णयसमेत गरेको छ । पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code स्वास्थ्य बीमाको एकीकृत व्यवस्थापन सूचना प्रणाली (IMIS) मा प्रयोग गरिने बोर्ड सचिवालयले जनाएको छ । यसबाट रोगको निदान अभिलेखीकरणमा एकरूपता आउने तथा दाबी परीक्षणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको विश्वास छ ।