सोपान फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ ।

काठमाडौं । सोपान फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लगानीकर्ताका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

यसमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।