धादिङ दुर्घटना : बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
धादिङको बस दुर्घटनामा परी च्यापिएका यात्रुको पाँच घण्टा पछि उद्धार भएको छ । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि उद्धार गरिएको हो ।
धादिङ । धादिङको बस दुर्घटनामा परी च्यापिएका यात्रुको पाँच घण्टा पछि उद्धार भएको छ । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि उद्धार गरिएको हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे बस अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो। त्रिशुली नदी किनारामा खसेको बसमा ललितपुरको इमाडोलका मानन्धर पनि सवार थिए।
दुर्घटना पछि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली उद्धारका लागि घटनास्थलमा पुगेका थिए । उद्धारका लागि खटिँदा टोलीले पाँच घण्टापछि मानन्धरको उद्धार गर्न सफल भएको हो ।
भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर बाहिर निकालिएको हो। उनलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ । दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
१० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।