विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति
विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारमा संलग्न हुनुका साथै अदृष्य व्यावसायिक साझेदारी देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गर्न लगाएका पौडेललाई अदालतले हिरासतमा अनुमति दिएको हो ।
काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारमा संलग्न हुनुका साथै अदृष्य व्यावसायिक साझेदारी देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गर्न लगाएका पौडेललाई अदालतले हिरासतमा अनुमति दिएको हो ।
विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतस्थित एक होटलबाट पक्राउ गरेको थियो। उनलाई सडक मार्ग हुँदै रातारात काठमाडौं ल्याएर विभागले मंगलबार अपराह्न केहीबेर बयान लिएपछि हिरासतमा राख्ने म्याद लिन अदालतमा पेस गरेको थियो।