भोटेकोशी बाढी: २५ अर्ब ८७ करोडको बिमा दाबी पर्ने अनुमान, दि ओरिएन्टलको मात्रै १३ अर्ब
सबैभन्दा बढी ओरिएन्टल
प्राधिकरणका अनुसार दि ओरिएन्टल बीमा कम्पनीमा सबैभन्दा धेरै १३ अर्ब ४ करोडको दाबी परेको छ ।
काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भएको क्षतिमा बीमा कम्पनीहरुमा करिब २६ अर्ब रुपैयाँको दाबी पर्ने भएको छ । नेपाल बिमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार बाढीका कारण प्रभावित भएको कुल बिमितको संख्या ५८३ रहेको छ । जसको अनुमानित दाबी पर्न सक्ने रकम २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणका अनुसार दि ओरिएन्टल बीमा कम्पनीमा सबैभन्दा धेरै १३ अर्ब ४ करोडको दाबी परेको छ । त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी पर्नसक्ने देखिएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी पर्ने सक्नेछ । अन्य कम्पनीहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँको दाबी पर्ने आँकलन छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख रुपैयाँ बराबरको क्षतिको दाबी पर्ने उल्लेख छ ।
राष्ट्रिय बिमा कम्पनीमा ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँको दाबी पर्नसक्ने बताइएको छ । इन्स्योरेन्स कम्पनीहरुमा परेको दाबीमा सबैभन्दा धेरै इन्जिनियरिङ तथा ठेकेदार बीमातर्फ छ। इन्जिनियरिङ तथा ठेकेदार बीमातर्फ २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ ।
बाढीले सञ्चालनमा रहेका र निर्धाणाधीन गरी एक दर्जन जलविद्युत आयोजना सहित जनधनको ठूलो क्षति भएको छ। सरकारी अधिकारीहरुले करिब २ हजार हाराहारी घर डुबानमा परेको आंकलन गरेका छन् ।
सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र मोटर बीमातर्फ १ अर्ब ५५ करोड दाबी परेको छ । यस्तै परिबहन बीमातर्फ ८९ करोड ७७ लाख रुपैयाँ दाबी परेको छ। व्यवसायीहरुका अनुसार रसुवागढी नाकामा मात्र ७०० भन्दा बढी नयाँ गाडी र २०० भन्दा बढी कन्टेनर बाढीले बगाएको थियो ।
