रसुवा बाढीमा बेपत्ताको बीमा दाबी गर्न मृत्यु दर्ता नचाहिने
नेपाल बीमा प्राधिकरणले रसुवासहित बाढी प्रभावित क्षेत्रका बीमितलाई बीमा दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गर्न जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले रसुवासहित बाढी प्रभावित क्षेत्रका बीमितलाई बीमा दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गर्न जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले आठ बुँदे परिपत्र जारी गर्दै प्रभावित बीमितलाई आवश्यक कागजी प्रक्रिया सरल बनाउन र भुक्तानीमा सहजता प्रदान गर्न भनेको हो ।
गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीका कारण प्रभावित भएका बीमितको हितलाई ध्यानमा राख्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको जनाएको छ । बाढीका कारण महत्वपूर्ण कागजात नष्ट भएका तथा आर्थिक कठिनाइमा परेका बीमितलाई राहत पुग्ने उद्देश्यले दाबी भुक्तानी, बीमालेख समर्पण, बीमालेख कर्जा र परिपक्व भुक्तानी प्रक्रियालाई सरल बनाइएको हो ।
नयाँ व्यवस्थाअनुसार मृत्यु दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति र कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाएर सामान्य निवेदन पेस गरे पुग्नेछ । दाबीकर्ताको पहिचान तथा नाता प्रमाणित गर्न नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जामध्ये आवश्यक कागजातलाई मान्यता दिनुपर्नेछ ।
त्यस्तै, बाढीका कारण बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई आधिकारिक प्रमाणका रूपमा स्वीकार गर्न प्राधिकरणले निर्देशन दिएको छ । बाढीमा सक्कल बीमालेख नष्ट भएको अवस्थामा पनि बीमा कम्पनीको अभिलेखमा उपलब्ध विवरणका आधारमा दाबी भुक्तानी प्रक्रिया अघि बढाउनुपर्नेछ ।
बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले कुनै शुल्क नलिई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ । कम्पनीकै कागजात बाढीमा नष्ट भएको अवस्थामा बीमित र बीमा अभिकर्ताको सहयोगमा आवश्यक विवरण संकलन गरी अभिलेख अद्यावधिक गर्नुपर्नेछ ।
प्राधिकरणले प्रभावित बीमितलाई बीमाशुल्क तथा बीमालेख कर्जाको किस्ता बुझाउन थप सहुलियतसमेत दिएको छ । आर्थिक कठिनाइका कारण निर्धारित समयमा किस्ता तिर्न नसक्ने बीमितलाई ६ महिनासम्म ब्याज तथा जरिवाना नलिई समय थप गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
यसैगरी, बाढीमा बेपत्ता भएका बीमितको मृत्यु दाबी भुक्तानीमा पनि सहजीकरण गरिएको छ । बेपत्ता व्यक्तिका हकवालाले पछि सम्बन्धित व्यक्ति जीवित भेटिएमा प्रचलित कानुनबमोजिमको सजाय भोग्न तयार रहेको स्वघोषणा गरेपछि दाबी भुक्तानी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ ।
प्राधिकरणको यो व्यवस्थाले बाढीका कारण बीमालेख तथा अन्य आवश्यक कागजात गुमाएका र आर्थिक समस्यामा परेका बीमित तथा उनीहरूका परिवारलाई बीमा सुविधा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यस्तो छ प्राधिकरणले जारी गरेको ८ बुँदे निर्देशन