स्टार्टअप प्रवर्द्धनका लागि सीएनआईवाइईएफ र टीएसएनबीच समझदारी
फाउन्डर्स हबमा सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच तथा सम्बन्ध विस्तारमा सहयोग गरिनेछ ।
काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता क्षेत्रलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारी भएको छ । समझदारीपत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रममार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
फाउन्डर्स हबमा सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच तथा सम्बन्ध विस्तारमा सहयोग गरिनेछ । साथै, स्टार्टअपलाई लगानीका लागि तयार पार्दै सम्भावित लगानीकर्तासँग जोड्ने र नयाँ लगानीका अवसर सिर्जना गर्ने योजना रहेको छ ।
साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाको सञ्जालमार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार तथा अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ ।
यो सहकार्य काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न शहर तथा उदाउँदै गरेका उद्यमशीलता केन्द्रसम्म विस्तार गर्ने योजना रहेको छ । स्थानीयस्तरमै नवप्रवर्तन, नयाँ व्यवसाय र उद्यमी विकासका लागि आवश्यक अवसर तथा पहुँच विस्तार गर्ने लक्ष्य साझेदारीले लिएको छ ।
साझेदारीले देशभर स्टार्टअपको पहुँच विस्तार गर्नुका साथै उद्यमी, उद्योग र लगानीकर्ताबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।