दश हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

विज्ञापन
ncell

मधेशका किसानले धान उत्पादनपछि उचित मूल्य, बजार र ढुवानीको समस्या भोग्दै आएका छन् । यही समस्यालाई सम्बोधन गर्न मिलले किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद गरी निश्चित बजार उपलब्ध गराउने लक्ष्य राखेको छ ।

काठमाडौं । मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिल प्रालिले सर्लाही र रौतहटलगायत जिल्लाबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातको वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ । प्रस्तावित धान खरिदको कुल मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुनेछ ।आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा किसानबाट धान खरिद गर्ने प्रस्ताव गरेका हुन् । मिलले किसानलाई बजारसँग प्रत्यक्ष जोड्न धान संकलन, ढुवानी र गुणस्तर व्यवस्थापनलाई समेत व्यवस्थित गर्ने जनाएको छ ।

मधेशका किसानले धान उत्पादनपछि उचित मूल्य, बजार र ढुवानीको समस्या भोग्दै आएका छन् । यही समस्यालाई सम्बोधन गर्न मिलले किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद गरी निश्चित बजार उपलब्ध गराउने लक्ष्य राखेको छ ।

प्रस्तावअनुसार २० प्रतिशत चिस्यान र ५ प्रतिशतसम्म भुस भएको मसिनो धानको मिल गेट मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । चिस्यान र भुसको मात्रा कम भए सोहीअनुसार थप मूल्य दिने व्यवस्था प्रस्ताव गरिएको छ । उदाहरणका लागि १४ प्रतिशत चिस्यान र भुस नभएको धानको मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँसम्म पुग्ने मिलले जनाएको छ ।

किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन धान मिल वा खरिद केन्द्रसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा प्रदेश सरकारको सहकार्य आवश्यक रहेको मिलको भनाइ छ । किसान समूह, सहकारी तथा स्थानीय तहसँगको समन्वयमा धान संकलन र ढुवानी व्यवस्थित गर्न सके लागत घटाउन सकिने अपेक्षा गरिएको छ ।मिलले धान खरिदमा गुणस्तर, तौल, मूल्य र भुक्तानी प्रक्रिया पारदर्शी राख्ने प्रतिबद्धता जनाउँदै किसानलाई तत्कालका आपूर्तिकर्तामात्र नभई दीर्घकालीन व्यावसायिक साझेदार बनाउने लक्ष्य रहेको जनाएको छ।