असार मसान्त र ‘कन्फिडेन्स क्राइसिस’को चपेटामा सेयर बजार, मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता
काठमाडौं । पछिल्ला केही महिनायता सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर दबाबमा छ । गत साता पाँच दिन कारोबार भएकोमा सबै दिन नेप्से घटेर बन्द भयो । गत साता करिब २ प्रतिशत अर्थात् ५२.५७ अंकले घटेर नेप्से २६४९.५१ अंकमा ओर्लियो ।
असार ८ गते पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि बजारमा नकारात्मक मनोविज्ञान थप बलियो बनेको विश्लेषण गरिएको छ । पक्राउको भोलिपल्ट अर्थात् असार ९ गते मात्रै नेप्से २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा झरेको थियो । त्यसयता नेप्से सूचकले २७०० बिन्दुको मनोवैज्ञानिक स्तर पुनः पार गर्न सकेको छैन । विगतमा बुल अर्थमन्त्री उपमा पाएका पौडेलको पक्राउलाई कतिपयले विगतमा सेयर बजारमा जालसाजी गरेको र बजार बढाएको भनेर व्यङ्ग्य समेत गरेका छन् । यद्यपि पौडेल पक्राउसँगै सेयर बजार थप ‘प्यानिक’ बनेको छ ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको तीन महिना पूरा भइसक्दा पनि पुँजी बजारले सकारात्मक लय समात्न सकेको छैन । यो अवधिमा नेप्से सूचक मात्र होइन, दैनिक कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ । बजार पुँजीकरणका आधारमा हेर्दा लगानीकर्ताको सम्पत्ति झन्डै ४ खर्ब ७१ अर्ब रुपैयाँले घटेको छ । बालेन प्रधानमन्त्री नियुक्त हुँदा नेप्सेको कुल बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रुपैयाँ रहेकोमा अहिले त्यो ४५ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको छ ।
बजेट सार्वजनिक भएयताका २० कारोबार दिनको तथ्यांकले पनि बजारको कमजोर अवस्था स्पष्ट देखाउँछ । यस अवधिमा नेप्से जम्मा ५ दिन मात्रै बढेको छ भने १५ दिन घटेको छ । अर्थात्, बजेटपछिका तीन चौथाइ कारोबार दिन बजार ओरालो लागेको देखिन्छ ।
पुँजी बजारले अपेक्षा गरेको अर्को महत्त्वपूर्ण विषय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्व पनि अझै पूर्ण रूपमा सक्रिय हुन सकेको छैन । असार ५ गते डा. गोपाल भट्ट सेबोनको अध्यक्षमा नियुक्त भए पनि उनले अझै पदभार ग्रहण गर्न सकेका छैनन् । अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले पार्टीको महाधिवेशनमा व्यस्त रहेकाले पदभार ग्रहण प्रक्रिया ढिलो भएको बताइएको छ । यसले पनि बजारमा नीतिगत अन्योल लम्बिएको अनुभूति लगानीकर्तामा देखिएको छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाका अनुसार अहिलेको बजार सुस्त हुनुको मूल कारण कुनै एक घटना नभई लगानीकर्तामा देखिएको आत्मविश्वासको अभाव हो । उनका अनुसार बजारमा अनिश्चितता बढेपछि नयाँ लगानी गर्ने मनोबल कमजोर बनेको छ । “ठ्याक्कै एउटा कारणले मात्रै बजार घटेको भन्न सकिँदैन । मुख्य समस्या लगानीकर्तामा विश्वासको कमी हो,” उनले भने । सरकारले पुँजी बजारप्रति स्पष्ट सन्देश दिन नसक्दा र विश्वासको वातावरण निर्माण गर्न नसक्दा त्यसको प्रत्यक्ष असर बजारमा परेको उनको विश्लेषण छ । उनले सेबोन अध्यक्षको नियुक्ति वा पदभार ग्रहणजस्ता विषयले सामान्य प्रभाव पार्न सक्ने भए पनि त्यसलाई बजारको मुख्य चालकका रूपमा बुझ्नु उचित नहुने बताए । उनका अनुसार बजार सुधारका लागि स्थिर नीति, स्पष्ट सरकारी दृष्टिकोण र लगानीकर्तामा भरोसा जगाउने वातावरण अपरिहार्य छ ।
इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) का अध्यक्ष भक्तिराम घिमिरे पनि बजारमा पैसाको अभावभन्दा विश्वासको संकट गम्भीर बनेको बताउँछन् । उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, निक्षेपको ब्याजदर लगातार घटिरहेको छ, तर लगानीकर्ता अझै वेट एन्ड सी को अवस्थामा छन् । “तरलता हुँदाहुँदै पनि बजार चल्न नसक्नुको कारण लगानीकर्ताले भविष्यप्रति विश्वास गर्न नसक्नु हो,” उनले भने । नयाँ सरकारले पुँजी बजारका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न नसक्दा लगानीकर्ता अन्योलमा परेको उनको भनाइ छ ।
घिमिरेले सरकारले आर्थिक अनियमिततामा संलग्नलाई कानुनी कारबाही गर्नु आवश्यक भए पनि त्यसलाई अत्यधिक प्रचारबाजी र त्रास फैलाउने शैलीमा अघि बढाउँदा बजारमा नकारात्मक मनोविज्ञान विकास भएको टिप्पणी गरे । उनका अनुसार कानुनी कारबाही नियामक निकायमार्फत संस्थागत र नियमसंगत ढंगले हुनुपर्छ । उनले अहिले बजारमा ब्याज तिर्नकै लागि व्यापक रूपमा सेयर बिक्री भइरहेको वा ठूला लगानीकर्ताले ठूलो मात्रामा बजार छाडिरहेको भन्ने दाबी पनि तथ्यसँग नमिल्ने बताए । यदि त्यस्तो अवस्था भएको भए दैनिक कारोबार दुई अर्ब रुपैयाँमै सीमित नहुने उनको तर्क छ । बरु हल्ला, अफवाह र अन्योलका कारण लगानीकर्ता नयाँ निर्णय लिन हिचकिचाइरहेको उनले बताए ।
अग्रवाल सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६) का निर्देशक भुवनेश्वर यादवले भने अहिलेको गिरावटमा असार मसान्तको मौसमी प्रभाव पनि जोडिएको बताए । उनका अनुसार असार अन्त्यतिर ऋणको ब्याज र किस्ता भुक्तानी गर्नुपर्ने भएकाले केही लगानीकर्ताले सेयर बिक्री गर्ने गर्छन्, जसले बजारमा बिक्री चाप बढाउँछ । त्यससँगै पछिल्लो समय भएका अनुसन्धान र कानुनी कारबाहीका घटनाले विशेषगरी ठूला लगानीकर्तामा त्रास र अन्योल सिर्जना गरेको उनको भनाइ छ । “बजारलाई माथि लैजान ठूला लगानीकर्ताको सक्रियता आवश्यक हुन्छ । उनीहरू नै पर्ख र हेरको अवस्थामा हुँदा बजारले गति लिन सक्दैन” उनले भने ।
यादवले आगामी मौद्रिक नीति बजारका लागि निर्णायक हुन सक्ने बताए । उनका अनुसार मौद्रिक नीतिले बजारमैत्री सन्देश दिन सके असारपछि बजारमा सुधारको सम्भावना छ । उनले अहिलेको दबाबलाई अस्थायी मान्दै नीतिगत स्पष्टता, विश्वासको वातावरण र ठूला लगानीकर्ताको पुनः सक्रियतासँगै सेयर बजार पुनः सुधारको बाटोमा फर्किन सक्ने विश्वास व्यक्त गरे ।
समग्रमा, बजारका जानकारहरू अहिलेको गिरावटलाई तरलताको अभावभन्दा बढी कन्फिडेन्स क्राइसिस’ अर्थात् लगानीकर्ताको विश्वासमा आएको कमीका रूपमा व्याख्या गर्छन् । राजनीतिक तथा नीतिगत स्पष्टता, नियामक निकायको सक्रियता, मौद्रिक नीतिको दिशा र सरकारबाट आउने सकारात्मक सन्देशले आगामी दिनमा नेप्सेको यात्रा निर्धारण गर्ने उनीहरूको साझा निष्कर्ष छ ।
