प्रताप सुवेदीले सम्हाले नेप्सेको कमान्ड, अब पुँजीबजार सुधारको जिम्मेवारी

बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदी कृषि विकास बैंकका पूर्वकामु प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका उनी अब मुलुकको एकमात्र धितोपत्र बजार सञ्चालक नेप्सेको नेतृत्वमा पुगेका छन् ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार औपचारिक रूपमा नेप्सेको नेतृत्व सम्हालेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका थिए ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदी कृषि विकास बैंकका पूर्वकामु प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका उनी अब मुलुकको एकमात्र धितोपत्र बजार सञ्चालक नेप्सेको नेतृत्वमा पुगेका छन् ।

सुवेदीले सन् २०५७ देखि कृषि विकास बैंकमा काम सुरु गरेका थिए । बैंकमा रहँदा उनले आन्तरिक लेखापरीक्षण, कम्पनी सचिवालय, कर्जा, योजना, ट्रेजरी, सञ्चालन, डिजिटल बैंकिङ, निक्षेप, मानव संसाधन तथा सामान्य सेवा विभागलगायत विभिन्न विभागको नेतृत्व गरेका थिए ।

उनले २०७५ देखि २०८० सम्म बैंकको प्रमुख कर्जा अधिकृत (सीसीओ) को जिम्मेवारी सम्हालेका थिए । त्यसपछि २०८०/८१ मा प्रमुख सञ्चालन अधिकृत (सीओओ) का रूपमा काम गरेका उनले २०८१ चैतदेखि मानव संसाधन तथा सेवा विभागको डेपुटी जनरल म्यानेजरको जिम्मेवारी सम्हालेका थिए । उनले २०७९ सालमा बैंकको कामु सीईओका रूपमा समेत काम गरेका थिए । कृषि विकास बैंकमा रहँदा सुवेदीले कर्जा व्यवस्थापन, खराब कर्जा न्यूनीकरण, आम्दानी तथा नाफा वृद्धि, निक्षेप उत्पादन विकास, डिजिटल सेवा विस्तार र संस्थागत सुशासन सुधारका क्षेत्रमा काम गरेका छन् । बैंक सार्वजनिक कम्पनीमा रूपान्तरण भएपछि साधारणसभा तथा सेयर निष्कासनसम्बन्धी काममा समेत उनको संलग्नता थियो । कृषि विकास बैंकबाहेक उनले नेपाल राष्ट्र बैंकमा सहायक र कर्मचारी सञ्चय कोषको भैरहवा शाखामा शाखा अधिकृतका रूपमा काम गरेका छन् । त्यस्तै, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र नेको इन्स्योरेन्सको सञ्चालक समितिमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ । शैक्षिक रूपमा सुवेदीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुरस्थित क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) तथा पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन् ।

बैंकिङ क्षेत्रको लामो अनुभवसहित नेप्सेको नेतृत्वमा आएका सुवेदीका सामु पुँजीबजारको कारोबार प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने, बजार पूर्वाधार तथा प्रविधिको विकास गर्ने र संस्थागत व्यवस्थापन सुदृढ बनाउने चुनौती रहनेछ । विशेषगरी पुँजीबजारमा प्रविधिको प्रयोग, कारोबार प्रणालीको विश्वसनीयता र बजारको संस्थागत क्षमता अभिवृद्धिमा उनको नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।