दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाईयो, अन्यको के होला ?

सम्पत्ति शुद्धीकरण मुद्दाका अधिकांस प्रतिवादीविरुद्ध धितोपत्र, बीमा र बैंकिङ कसुर मुद्दा विचाराधीन

बुधबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले दीपक र सुलभलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले दीपक र सुलभलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । गत शुक्रबारदेखी दीपक र सुलभलगायतलाई थुनामा पठाउने कि थुनाबाहिर रहेर मुद्धा लड्न दिने भन्ने विषयमा थुनछेक बहस भईरहेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको र पछि फैसला बमोजिम हुने गरि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाईएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक, सुलभसहित करिब ४ दर्जन व्यक्ति तथा संस्थाहरुलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो । मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए । विभागले दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख र सुलभविरुद्ध २५ अर्ब ५५ करोड २० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

हिमालयन रि इन्स्योरेन्सलगायत कम्पनीको रकम दुरुपयोग गरेर उनीहरुले सरकारी स्वामित्वमा रहेको नेपाल रि इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको आरोप छ । विभागकाअनुसार दीपक भट्टले हिमालयन रिको ३ अर्ब ८१ करोड, डिबेञ्चरमार्फत ८० करोड, नेपाल रि इन्स्योरेन्सको सेयर घाटामा बिक्री गरेको देखाइ पुनः त्यही कम्पनीको सेयर खरिदमा १२ करोड ७० लाख गरी कुल १४ वटा कम्पनी तथा कारोबारमार्फत २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ हेराफेरी गरेको छ ।

अदालतमा पेश भएको आरोपपत्र अनुसार दीपक र सुलभबाहेक भृकुटी स्टक ब्रोकरका सन्दिप चाचन अग्रवालविरुद्ध १४ अर्ब ५८ करोड ७८ लाख, साहिल अग्रवालविरुद्ध ६ अर्ब ४ करोड ३४ लाख, उपासना पौडेलविरुद्ध ६ अर्ब ४ करोड, सुभी अग्रवालविरुद्ध ३ अर्ब ९६ करोड, ऋषिराज मोरविरुद्ध ३ अर्ब ७८ करोड, कृषिभ अग्रवालविरुद्ध ३ अर्ब २८ करोड ३८ लाख, रोहित गुप्ताविरुद्ध दुवैतर्फ गरेर ३ अर्ब २५ करोड, शेखर गोल्छाविरुद्ध व्यक्तिगत र संस्थागत गरी ३ अर्ब २५ करोड, अमित मोरविरुद्ध २ अर्ब ८५ करोड ३९ लाख, राजबहादुर शाहविरुद्ध एक अर्ब ७८ करोड, राजकुमार मोरविरुद्ध २७ करोड ६९ लाख र सुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र राजीव मोरविरुद्ध समान २७ करोड ३३ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । दीपक र सुलभबाहेकको थुनछेक बहस सुरु भएको छैन । यही प्रकरणमा गोल्छा यसअघि आवश्यक परेका बेला उपस्थित हुने गरि हाजिरी जमानीमा छोडिएका थिए । प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते र गोल्छालाई वैशाख १० गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका निम्ति पक्राउ गरेको थियो ।

त्यसैगरि विभागले मनिषकुमार, शिशिर गैरे, दीपककुमार श्रेष्ठ, रितेश प्रधान, सुमेर शम्शेर जबरा, सुभाषबहादुर श्रेष्ठ, आशिष श्रेष्ठ, मृगेन्द्रनाथ रिमाल, सिद्धान्त झुनझुनवाला, सुरेन्द्र थापा, राजकुमार यादव, प्रतापमान श्रेष्ठ, नरेशकुमार रोका, चिरायू भण्डारी, शरद ओझा, मदन दहाल र शंकरलाल अग्रवाललगायतलाई पनि प्रतिवादी बनाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाका अधिकांस प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र र बीमा कसुर तथा पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा पनि विचाराधीन छन् ।