सुलभ अग्रवालको मास्टरप्लान: छोरासँग नक्कली अंशबण्डा गरेर ३२ करोडको सेयर बिक्री र ७० प्रतिशत रकम आफैंतिर

प्रतिवेदनअनुसार कम्पनीका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले आफूले ‘लकइन’ अवधिमा बेच्न नपाउने सेयर परिवारभित्रै ‘नक्कली अंशबण्डा’ देखाएर छोरा कृषिव अग्रवालको नाममा सारेर बिक्री गराएका थिए ।

काठमाडौँ ।  ‘हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३’ले नेपाली पुँजीबजार र पब्लिक कम्पनीमा रहेर गरिने गैर-कानूनी धन्दालाई उजागर गरेको छ । प्रतिवेदनअनुसार कम्पनीका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले आफूले ‘लकइन’ अवधिमा बेच्न नपाउने सेयर परिवारभित्रै ‘नक्कली अंशबण्डा’ देखाएर छोरा कृषिव अग्रवालको नाममा सारेर बिक्री गराएका थिए । यसरी बिक्री गरिएको ८ लाखभन्दा बढी कित्ता सेयरबाट ३२ करोड रुपैयाँभन्दा बढी रकम उठाइएको थियो । तर, यो कारोबारमा वास्तविक लाभग्राही भने पुनः सुलभ आफैं रहेको देखिएको छ । सुलभका छोरा कृषिव अग्रवालले आफूले अंशबापत पाएको भनिएको हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता सेयर भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत बिक्री गरेका थिए । सो सेयर बिक्री गरेवापत कृषिवको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा २०८२ असोज ७ गते ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ जम्मा भएको थियो । 

उक्त मुद्दाको मिलापत्र गर्दा विवाद उत्थान गर्ने श्रीमती शुभी अग्रवाल, छोरा अद्वित्य अग्रवाल र सुलभ अग्रवालबीच अन्य सम्पत्ति सगोलमै राख्ने सहमति भएको थियो । तर, कृषिव अग्रवाललाई मात्र अंशबापत हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता सेयर र १ करोड रुपैयाँ दिइएको थियो ।

त्यसपछि ती सेयर बिक्रीबाट प्राप्त ३२ करोड ८३ लाख रुपैयाँमध्ये करिब ७० प्रतिशत अर्थात् २३ करोड रुपैयाँ कृषिवले तीन दिनमै बुबा सुलभको खातामा फिर्ता पठाएका थिए।

सुलभ अध्यक्ष पदमा रहँदा आफ्नो नामको सेयर बिक्री गर्न नमिल्ने भएकाले छोरामार्फत सेयर बिक्री गराएर रकम पुनः आफैंले लिने उद्देश्यले अंशबण्डा गरिएको देखिन्छ । यसले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को व्यवस्था छल्ने नियत स्पष्ट पार्छ । 

‘कृषिव अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ०३१ कित्ता सेयर बिक्री गरेवापतको रकम ३२ करोड ८३ लाख ८० हजार रुपैयाँ २०८२ असोज १० मा आरटीजीएस मार्फत निजको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाता नम्बर ००१०५०३०२७४४५ मा प्राप्त गरेको देखिन्छ,’ धितोपत्र बोर्डको प्रतिवेदनमा भनिएको छ, ‘उक्त सेयर बिक्रीबाट प्राप्त रकम मध्ये २३ करोड रुपैयाँ (जुन निजले प्राप्त गरेको रकमको करिब ७० प्रतिशत हुन आउने) २०८२ असोज १० मा निजको बाबु शुलभ अग्रवाललाई नै भुक्तानी गरेको दखिन्छ ।’

 अनुसन्धानबाट कृषिवले सेयर बिक्रीकै पैसाबाट हजुरआमा ललिता अग्रवालको नाममा २ करोड रुपैयाँ र जगदम्बा स्टिलको नाममा ७ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको पनि देखिएको छ । छोराको नाममा सेयर सारेर बिक्री गराए पनि अन्तिम लाभग्राही शुलभ अग्रवाल आफैं रहेको धितोपत्र बोर्डको निष्कर्ष छ ।

यसरी कम्पनीको बहालवाला अध्यक्ष शुलभ अग्रवालले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) को कानूनी व्यवस्थाको कारण पदमा रही बिक्री गर्न नमिल्ने सेयरलाई अशंबण्डाको प्रपञ्च गरी छोरा कृषिव अग्रवाललाई हकहस्तान्तरण गरी सेयर बिक्री गर्न लगाई प्राप्त रकम पुनः आफैंले लिन कानूनी व्यवस्थालाई झुक्याई सेयर बिक्री गरेको कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको जालसाजीयुक्त कारोबार भएको बोर्डको निष्कर्ष छ ।

धितोपत्र बोर्डको प्रतिवेदनअनुसार सन् २०२३ जुन १८ मा मर्जरपछि हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता साधारण सेयर सुलभ अग्रवालको खातामा आएको थियो, जसलाई पछि २०२३ जुलाई १३ मा भृकुटी स्टक ब्रोकिङको हितग्राही खातामा सारिएको थियो । २०२५ मे १६ मा १ लाख १२ हजार ४२४ कित्ता बोनस सेयर थपिएपछि सोही वर्ष जुन ३ मा ८ लाख ३ हजार ३१ कित्ता सेयर छोरा कृषिव अग्रवालको नाममा घरायसी नामसारी गरिएको देखिन्छ ।

त्यसपछि २०२५ जुलाई २५ देखि अगस्ट ८ सम्म उक्त सेयर बिक्री भई हितग्राही खाताबाट डेबिट भएको थियो। घरायसी नामसारीका लागि २०८२ जेठ १४ मा अदालतको मिलापत्रका आधारमा निवेदन दिइएको र २०८२ जेठ १६ मा आवश्यक कागजातसहित भृकुटी स्टक ब्रोकिङमार्फत प्रक्रिया अघि बढाइएको थियो। २०८२ जेठ २० मा सिडिएसको अनुमति र रोक्का फुकुवापछि सो सेयर कृषिवको खातामा जम्मा भएको थियो ।

पछि कृषिवले सोही सेयर २०८२ साउन ८ देखि २२ सम्म बिक्री गरेका थिए । बिक्रीबाट ३२ करोड ८३ लाख ८० हजार रुपैयाँ २०८२ असोज ७ मा उनको खातामा आएको थियो। सो रकममध्ये २३ करोड रुपैयाँ असोज १० मा बुबा सुलभलाई, २ करोड रुपैयाँ हजुरआमा ललिता अग्रवाललाई, र बाँकी ७ करोड ८४ लाख रुपैयाँ जगदम्बा स्टिल्सलाई विभिन्न मितिमा भुक्तानी गरिएको देखिन्छ ।

अनुसन्धानमा थप के देखिएको छ भने सेयर कारोबारमा प्रयोग गरिएको कम्प्युटर एउटै रहेको पाइएको छ, जसले नियन्त्रण र व्यवस्थापन एउटै समूहबाट भएको संकेत गरेको छ ।