आर्थिक संकट भन्दै सरकारले रोक्यो निजी अस्पतालमा स्वास्थ्य बीमा, तिर्नुपर्ने बक्यौता पुग्यो १६ अर्ब
स्वास्थ्य बीमा बोर्डले गम्भीर वित्तीय समस्या झेलिरहेका कारण भुक्तानी व्यवस्थापनको कठिनाइले सरकारी अस्पतालको सेवासमेत प्रभावित हुँदै आएको छ ।
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी अस्पतालहरूबाट उपलब्ध गराइने आकस्मिक बाहेकका अन्य सेवाहरूमा स्वास्थ्य बीमा रोक्ने निर्णय गरेको हो ।
जेठ ११ गते बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखी लागू गर्नेगरि निर्णय लिएको हो । सेवा प्रदायक अस्पतालहरूलाई यसबारे पत्र पठाइएको बोर्डले जानकारी गराएको जनाएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैर(आकस्मिक बीमा सेवा स्थगित गरिएको उल्लेख छ ।
बोर्डको यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका गरिएको छ । पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले गम्भीर वित्तीय समस्या झेलिरहेका कारण भुक्तानी व्यवस्थापनको कठिनाइले सरकारी अस्पतालको सेवासमेत प्रभावित हुँदै आएको छ । बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब तिर्न बाँकी छ ।