बिना इजाजत लघु बीमा कार्यक्रम: कृषि विकास बैंक र साना किसान लघुवित्तमार्फत करिब १३ करोड गैरकानुनी निकासा

बीमा व्यवसाय सञ्चालन गर्ने आधिकारिक इजाजत नै नभएका दुई संस्थालाई लघु बीमा कार्यक्रमका नाममा करिब १२ करोड ९२ लाख २६ हजार रुपैयाँ निकासा गरिएको खुलासा भएको छ ।

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गर्ने आधिकारिक इजाजत नै नभएका दुई संस्थालाई लघु बीमा कार्यक्रमका नाममा करिब १२ करोड ९२ लाख २६ हजार रुपैयाँ निकासा गरिएको खुलासा भएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्था-दुवै बीमा व्यवसाय गर्न अधिकृत वा बिमा अभिकर्ताका रूपमा समेत दर्ता नभए पनि उनीहरू मार्फत ठूलो रकम भुक्तानी गरिएको देखिएको हो । प्रतिवेदनले कृषि विकास बैंकलाई ४ करोड १६ लाख ६६ हजार रुपैयाँ र साना किसान लघुवित्तलाई ८ करोड ७५ लाख ६० हजार रुपैयाँ गरी कुल १२ करोड ९२ लाख २६ हजार रुपैयाँ निकासा दिइएको उल्लेख गरेको छ ।

कानुनअनुसार बीमा ऐन, २०७९ तथा लघु बीमा निर्देशिका, २०७६ अनुसार बिमा कारोबार केवल इजाजतप्राप्त निर्जीवन बीमा कम्पनी वा तोकिएका दर्ता प्राप्त निकायमार्फत मात्र गर्न पाइन्छ । तर, सम्बन्धित कार्यक्रम यस प्रक्रियाविपरीत सञ्चालन गरिएको महालेखाको ठहर छ ।

महालेखाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार अनुदानको प्रगति विवरण, लेखापरीक्षण र प्रभावकारी अनुगमन समेत नभएको औँल्याएको छ । साथै, लाभान्वित किसान तथा पशु-बालीको विस्तृत विवरणसमेत मन्त्रालयले उपलब्ध नगराएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले यस्तो कार्यक्रमलाई कानुनी दायरामा ल्याई पुनर्संरचना गर्न र खर्चको पारदर्शिता तथा प्रिमियम उपयोगको सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ ।