डाबरको कमाईमा धक्का, एक वर्षमा १५ अर्बको सामान विक्री हुँदा भारतीय बजारमा गयो ६४ प्रतिशत

डाबरको कुल आम्दानीको ६४ प्रतिशत हिस्सा भारत निर्यातबाट प्राप्त भएको छ। सन् २०२५ मा डाबरले नौ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु भारतमा निर्यात गरेको जनाएको छ । मुलुकको कूल निर्यातमा डाबर नेपालको हिस्सा ३.७१ प्रतिशत छ ।

काठमाडौं ।काठमाडौं । नेपालमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमजी) उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी डाबर नेपालले पछिल्लो एक वर्षमा १५ अर्ब ६ करोड २० लाख रुपैयाँबराबरको सामान उत्पादन गरि विक्री गरेको छ । तर, डाबर नेपालको सन् २०२५ को कुल विक्री २०२४ को तुलनामा ६.८२ प्रतिशतले थोरै हो  । डाबरले २०२४ मा १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । डाबरले सन् २०२३ मा १३ अर्ब ६१ करोड रुपैयाँको व्यापार गरेको थियो ।

जुस तथा पेय पदार्थ खण्डमा बढ्दो प्रतिस्पर्धा, वैदेशिक रोजगारीका कारण घट्दो आन्तरिक उपभोग तथा समग्र आर्थिक सुस्तताले घरेलु बिक्रीमा असर पुगेको कम्पनीले जनाएको छ । डाबरले फलफूलको जुस र पेय पदार्थ, च्यवनप्राश, ग्लुकोज, टूथपेस्ट, कपालमा लगाउने तेल, पाचन ट्याब्लेट (हजमोला) र डाबर मह र डाबर वाटिका जस्ता वस्तुहरूको उत्पादन र बिक्री गर्दै आएको छ। यसैगरी उद्योगले डाबर, रियल, हाजमोला आदि उत्पादन गर्दै आएको छ । जसको स्थानीय र अन्तर्राष्ट्रिय दुवै स्तरमा बलियो ब्रान्ड पहिचान छ । विशेष गरी डाबरको आयुर्वेदिक र हर्बल क्षेत्रमा बलियो उपस्थिती छ। डाबर वाटीका तेलका साथै स्वास्थ्य सेवा खण्डमा क्यान्डी र ट्याब्लेट भेरियन्टहरूमा पाचन उत्पादनहरूको लागि हाजमोला जस्ता बलिया ब्रान्डहरू समावेश छन्।

कम्पनीकाअनुसार डाबरको कुल आम्दानीको ६४ प्रतिशत हिस्सा भारत निर्यातबाट प्राप्त भएको छ। सन् २०२५ मा डाबरले नौ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु भारतमा निर्यात गरेको जनाएको छ । मुलुकको कूल निर्यातमा डाबर नेपालको हिस्सा ३.७१ प्रतिशत छ । डाबरको नेपालभर ३०० सय बिक्री आउटलेट छन् भने एक लाख बढी खुद्रा केन्द्रबाट आफ्ना सामान बिक्री गर्दै आएको छ ।

डाबरको व्यवसाय खाद्य क्षेत्रहरूमा केन्द्रित छ । जसले विगतका वर्षहरूमा आम्दानीको लगभग ७० प्रतिशत योगदान पुर्याउँदै आएको छ । यद्यपि कम्पनीले व्यक्तिगत हेरचाह, स्वास्थ्य सेवा, पाचन आदि जस्ता अन्य एफएमसीजी उत्पादनहरूमा पनि काम गरिरहेको छ । डाबर नेपाल निर्यातक उद्योगहरु मध्ये सबै भन्दा बढी कर बुझाउने उद्योगको रुपमा सम्मानित हुँदै आएको छ।



यसअवधिमा कम्पनीको पीबिआइएलडीटी मार्जिन घटेर १५.८६ प्रतिशतमा झरेको छ, जसको मुख्य कारण उच्च छुट (डिस्काउन्ट) खर्च रहेको जनाइएको छ । ब्याज खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको छ, जसमा कार्यशील पुँजी उपयोग कम हुनु र ब्याजदरमा आएको गिरावटले सहयोग गरेको छ । कम्पनीको गत वर्ष ग्रस क्यास एक्रुअल २ अर्ब २४ करोड रुपैयाँ छ, जुन अघिल्लो वर्ष २ अर्ब ५४ करोड रुपैयाँ थियो । 

डाबरले यसअघिघ नै आफ्नो उत्पादन बढाउन तथा वस्तु विविधिकरण परियोजना निर्माण तथा सञ्चालन गर्न नौ अर्ब ६८ करोड रुपैयाँ लगानी थप गर्ने निर्ण गरिसकेको छ । लगानी थप्ने विषयमा लगानी बोर्ड र डाबरबीच २०८० वैशाखमा परियोजना समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । २०७८ माघ २५ मा बसेको लगानी बोर्डले डाबरको क्षमता अभिवृद्धि र उत्पादन विविधिकरण गर्न लगानी स्वीकृति गरेको थियो ।

डाबर नेपाल सन् १९८९ मा स्थापित भएर १९९२ देखि व्यवसाय सञ्चालन गर्दै आएको छ । डाबर नेपालको भारतको अग्रणी बहुराष्ट्रिय कम्पनी डाबर इन्डियाको सहायक कम्पनी हो । डाबर नेपालमा डाबर इन्टरनेसनलको ९७.५ प्रतिशत हिस्सा छ भने बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदार रुक्मशमशेर राणाको छ । राणाको भने निधन भइसकेको छ ।