समस्याग्रस्त सहकारीबाट जेठ महिनामा ५९ लाख बचत फिर्ता, १ करोड २० लाख ऋण असुली

समितिका अनुसार यस महिना ८ वटा समस्याग्रस्त सहकारीका कुल १ हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार ६८९ रुपैयाँ बचत फिर्ता गरिएको छ ।

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता र ऋणीहरूबाट बक्यौता असुल गर्ने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको जनाएको छ । समितिका अनुसार यस महिना ८ वटा समस्याग्रस्त सहकारीका कुल १ हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार ६८९ रुपैयाँ बचत फिर्ता गरिएको छ । फिर्ता गरिएको यो रकम मुख्यतया १० हजार रुपैयाँभन्दा मुनिका साना बचतकर्ताहरूको रहेको छ । बचत फिर्ता गरिएका सहकारीहरूमा कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरिएन्टल को-अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर र लालिगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन्, जसका ऋणीहरूबाट असुल भएको रकमबाट नै दाबीकर्ताहरूलाई यो भुक्तानी गरिएको हो ।

यसका साथै समितिले जेठ महिनामा ऋण असुली र बचत मिलानतर्फ पनि ठुलो उपलब्धि हासिल गरेको छ । प्रतिवेदन अनुसार १२ वटा समस्याग्रस्त सहकारीका ऋणीहरूबाट कुल १ करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरिएको छ भने १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान समेत सफलतापुर्वक सम्पन्न भएको छ । यसरी बचत मिलान र ऋण असुली भएका सहकारीहरूमा ओरिएन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।

प्रशासनिक र प्राविधिक सुधारतर्फ अघि बढ्दै समितिले हाल बचत फिर्ताका लागि भेरिफिकेसन गर्न बाँकी रहेका करिब ४४ हजार मागदाबी निवेदनहरूको चरणबद्ध रूपमा छानबिन गरिरहेको छ । बचतकर्ताको सहजताका लागि मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ भने अनलाइन प्रणालीमा सुधार गर्दै बचतकर्ताले आफैँ आफ्नो मागदाबीको अवस्था हेर्न मिल्ने गरी प्रविधि परिमार्जन भइरहेको छ। थप सक्रियता देखाउँदै समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक र पूर्व सञ्चालकहरूको नाममा रहेको सम्पत्ति खोजी गर्न रणनीतिक योजनासहित विशेष टोली परिचालन गरेको छ ।

कार्यसम्पादनलाई थप चुस्त बनाउन ऋणीहरूको ऋण दायित्व गणनाका लागि नयाँ सफ्टवेयर विकास गरी कर्मचारीहरूलाई तालिम दिन सुरु गरिएको छ। साथै ऋणीहरूको पहिचान गरी सम्पत्ति रोक्का राख्ने र उनीहरूको तीनपुस्ते विवरण तयार गर्ने कार्यलाई तीव्रता दिइएको छ। कार्यालयको नयाँ संगठनात्मक संरचना स्वीकृत गरी कर्मचारीहरूको जिम्मेवारी बाँडफाँड गरिएको यस महिनामा समितिका १६ वटा बैठकहरू सम्पन्न भई १८९ वटा विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरिएका छन् ।

प्रकाशन भएका दस्तावेजहरू

6a324ca368a36_1781681315.pdf