राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, घट्दो क्रममा देखियो

जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखको हकमा आर्थिक वर्ष २०८०/८१ सम्म र आर्थिक वर्ष २०८१/८२ का लागि क्रमशः प्रतिवर्ष प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र ६० रुपैयाँ बोनस दर निर्धारण भएको छ ।

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको बोनसदर घोषणा भएको छ । आर्थिक वर्ष २०७३।७४ देखि २०७५/७६ सम्मको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको हो ।

नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५५ रुपैयाँ बोनस प्रतिहजारका दरले दिने भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको नाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरू अन्तर्गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनस दर निर्धारण गरिएको कम्पनीले स्पष्ट पारेको छ ।

जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखको हकमा आर्थिक वर्ष २०८०/८१ सम्म र आर्थिक वर्ष २०८१/८२ का लागि क्रमशः प्रतिवर्ष प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र ६० रुपैयाँ बोनस दर निर्धारण भएको जनाएको छ । साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर पनि प्रचलित बोनस दर नै कायम हुने कम्पनीले जनाएको छ ।