मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो : गृहमन्त्री अर्याल
अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको र प्रहरीलाई साधन स्रोतले सक्षम बनाउन मन्त्रालय तत्पर छ । प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएको र त्यो सुरक्षाका लागि चुनौतिपूर्ण भएको छ ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा भएको बताएका छन् । ७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको र प्रहरीलाई साधन स्रोतले सक्षम बनाउन मन्त्रालय तत्पर रहेको बताए । प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएको र त्यो सुरक्षाका लागि चुनौतिपूर्ण भएको अर्यालको भनाई छ ।
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताउँदै अर्यालले २३ र २४ भदौमा भएको घटनामा प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दु:ख व्यक्त गरे । ‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन, नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई जेनजी आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ’ गृहमन्त्री अर्यालले भने ।
अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गरे ।