मेलम्ची बाढीपीडित र स्थानीय भेन्डर्सका सम्झौता कार्यान्वयन गर्न दुलालको माग
उनले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको समेत जानकारी गराए ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको समेत जानकारी गराए । उनले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले यसअघि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले पानी पथान्तरण बन्द गरेर सरकारसँग विभिन्न सम्झौता गरेको भएपनि ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको बताए ।
प्रमुख सचेतक दुलालले मेलम्ची बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको बताए । उनले मेलम्ची बाढी प्रभावित तथा लोकल भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न तथा मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवषीृय ठेक्का प्रक्रिया अगाडि बढाउन समेत माग गरे ।
