रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढ्यो, विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
चालु आव भदौसम्मको विदेशी विनियम सञ्चिति अमेरिकी डलरमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । गत भदौको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
काठमाडौं । चालु आर्थिक वर्षको भदौमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा भदौ महिनामा एक खर्ब ७४ अर्ब ६७ करोडले बढेर साढे ३ खर्ब पुगेको छ । सामान्यत विदेशमा रहेका नेपालीले डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको अवस्थामा रेमिट्यान्स पठाउँदा उनीहरूलाई मूल्य वृद्धिको लाभ हुन्छ ।
चालु आवको दोस्रो महिनासम्ममा नेपाल भित्रिएको अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
चालु आवको भदौसम्ममा खुद द्वितीय आय ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
चालु आवको भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत आवको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो ।
चालु आर्थिक वर्ष दोस्रो महिना भदौमा कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशत बढेको छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो ।
चालु आव भदौसम्मको विदेशी विनियम सञ्चिति अमेरिकी डलरमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशत वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशत वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।
२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत भदौको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत छ । असार मसान्तमा ती अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थियो ।