असोजमा अधिकांश वाणिज्य बैंकको ब्याजदर यथावत, औसत निक्षेपदर घट्यो
असोजमा ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ ।
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असोज २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको नयाँ दरअनुसार अधिकांश बैंकले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर घटाएका छन् ।
असोज महिनामा २० वटा वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ । यो भदौ महिनाको औसत ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशतविन्दुले कम हो । त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशतमा झरेको छ ।
असोजमा ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपतर्फको ब्याजदर पनि ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशतमा झारेको छ ।
त्यसैगरी, नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ । बैंकले संस्थागत निक्षेपको ब्याजदर भने ३.०१ प्रतिशतमा यथावत राखेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपको दर ०.०३ प्रतिशतविन्दुले घटाएर ३.७३ प्रतिशतमा झारेको छ । सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाउँदै २.७५ प्रतिशत कायम गरेको छ । अर्कोतर्फ, सानिमा बैंकले भने संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्याएको छ। व्यक्तिगत निक्षेपतर्फ भने बैंकले भदौकै ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।
व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित १५ वटा बैंकले भने असोजमा व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।
यससँगै असोजमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर रहे पनि केही बैंकले गरेको कटौतीका कारण समग्र औसत ब्याजदर भने भदौको तुलनामा सामान्य घटेको देखिएको छ ।
