आज खग्रास चन्द्रग्रहण, कस्तो देखिएला चन्द्रमा ?
काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।
पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने छ । यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।
आज २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।