नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

विपद्पछि राहतको प्रतीक्षा गरेर मात्र बस्नुभन्दा उपलब्ध स्रोत र साधनअनुसार समयमै सहयोगका लागि हातेमालो गर्न सके मानवीय क्षति कम गर्न सकिने सन्देश चलचित्रले दिने उनले बताए ।

अस्ट्रेलिया। नेपालका बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाली फिल्म निर्माता तथा निर्देशक एन्ड्र्यु हाइडले आफ्नो चलचित्र प्रदर्शनबाट संकलित रकममध्ये ३ हजार अस्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । सन् साइन कोस्ट निवासी हाइडले आगामी दिनमा पनि चलचित्र प्रदर्शनमार्फत मानवीय सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न सहरमा आयोजित चलचित्र चेजिङ केओस् का प्रदर्शन सफल रहेको बताए। ब्रिस्बेनमा हालै आयोजित प्रदर्शनबाट प्राप्त सहयोग नेपालका बाढीपीडितका लागि उपलब्ध गराइसकेको जानकारी दिँदै उनले आगामी दिनमा अस्ट्रेलियाका अन्य सहरका साथै विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने योजना रहेको सुनाए ।

नेपालमा छायांकन नगरिएको भए पनि चलचित्रले विपद्का बेला मानवीय सहयोगको महत्त्वलाई उजागर गरेको निर्देशक हाइडको भनाइ छ । विपद्पछि राहतको प्रतीक्षा गरेर मात्र बस्नुभन्दा उपलब्ध स्रोत र साधनअनुसार समयमै सहयोगका लागि हातेमालो गर्न सके मानवीय क्षति कम गर्न सकिने सन्देश चलचित्रले दिने उनले बताए । यो सन्देश नेपालको वर्तमान विपद् परिस्थितिसँग पनि सान्दर्भिक रहेको उनको धारणा छ । चलचित्र प्रदर्शनलाई नेपालका बाढीपीडितलाई सहयोग गर्ने माध्यम बनाउन पाएकोमा खुसी व्यक्त गर्दै हाइडले आगामी प्रदर्शनबाट पनि राहत अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यद्यपि, आफ्ना चलचित्र प्रदर्शनमा नेपाल वा नेपाली मूलका दर्शकको उपस्थिति नदेखिएकोमा भने उनले दुःख व्यक्त गरेका छन् । नेपाली समुदायलाई समेत सहयोग अभियानमा जोड्ने उद्देश्य रहेकाले आगामी प्रदर्शनमा नेपाली दर्शकको सहभागिता बढ्ने अपेक्षा उनले गरेका छन् । यसैबीच, एनसीएक्स इन्टरनेसनलले हाइडको आगामी चलचित्र प्रदर्शनका लागि सहयोग गरिरहेको छ । क्यानबेरास्थित ड्यान्डी सिनेमामा आगामी नोभेम्बर १०, मंगलबार साँझ ६:४५ बजे चलचित्र प्रदर्शन हुने तय भएको छ। दर्शकले ड्यान्डी सिनेमाको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सक्नेछन् ।

एनसीएक्स इन्टरनेसनल का तर्फबाट निर्देशक नितिन चन्द ले नेपाली समुदायलाई चलचित्र हेर्नुका साथै यस मानवीय अभियानमा सहभागी हुन आग्रह गरेको छ। चलचित्र हेर्नु मनोरञ्जनको अवसर मात्र नभई नेपालका बाढीपीडितलाई सहयोग पुर्‍याउने माध्यमसमेत बन्न सक्ने संस्थाको भनाइ छ । नेपालमा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने प्रयास भइरहेका बेला चलचित्र प्रदर्शनलाई मानवीय अभियानसँग जोड्ने हाइडको पहलले अस्ट्रेलियामा रहेका नेपाली समुदायको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।