भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेनः व्यवसायी

गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाइ छ।

काठमाडौँ ।  नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाइ मसलाको कारोवार अपेक्षित रुपमा कम भएको उनीहरुको भनाइ छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मुल्यवृद्धि भएको हो ।

विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाइ छ। सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो । ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिए ।

उनकाअनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए । उनले भने, ‘यसपालि भाइ मसलाको मुल्य बढेको छ। अहिले नयाँ फसल आएको छ, पोहोर साल तिहार १०–१५ दिन अगाडि थियो । यसपालि तिहार १०–१५ दिन पछाडि प¥यो, त्यसले गर्दाखेरि नयाँ फसलको सामान आएको छ। केही सामानमा भाउ धेरै नै बढेको छ, केहीमा भने खासै बढेको छैन। पोहोर सालभन्दा पिस्तामा मूल्य अलि बढेको छ, बदाममा बढेको छ ।’

उनका अनुसार नरिबल, ओखरमा एक÷डेढ सय रुपैयाँ किलो बढेको छ, त्यो त स्वाभाविक कुरा हो । ग्राहकहरूले यसपालि भाउ बढेको हुनाले एफोर्ड गर्न सकेन । १ किलो मसाला लिने मान्छेले आधा किलो, आधा किलो ग्राहकले २०० ग्राम, १०० ग्राम भए पनि लगेर काम चलाइरहेका छन् ।  तिहारको भाइटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ ।