प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किए, के-के भए उपलब्धि ?
चीनमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपनि दुबै प्रधानमन्त्रीबीच औपचारिक वार्ता भएन । ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने कार्यक्रम छ ।
काठमाडौं । पाँच दिने चीन भ्रमण सकेर बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतका सरकारी अधिकारीहरूले स्वागत गरे ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री ओली सहितको प्रतिनिधि मण्डल स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउँदै राईले प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनको पूर्णकालीन सदस्यताका लागि आग्रह गरेको बताए । ‘चीनमा जसरी आफ्ना कुराहरू प्रधानमन्त्री ओलीले राख्नुभयो, भारतमा पनि त्यसरी नै आफ्ना कुरा राख्नुहुन्छ ?’ परराष्ट्र सचिव राईले भने, ‘नेपालले जहिल्यै पनि प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ । परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारीमा रहन्छ ।’
सचिव राईकाअनुसार चीन सरकारले नेपालको विकासका लागि गर्दै आएको सहयोगका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई धन्यवाद दिए भने बीआरआई लगायतका परियोजना शीघ्र कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरी नेपाल भ्रमणका लागि निम्तो दिए भने उनलाई पनि पुटिनले रुस भ्रमणको निम्तो दिए ।
त्यस्तै, १४ गते नै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । जसमा लिपुलेक पासमा भारत र चीनबीच भएको सहमतिमा आपत्ति जनाउँदै उक्त भूभाग नेपालको भएको र चीनले बुझिदिनुपर्ने भन्दै ओलीले नेपालको तर्फबाट अडान राखेकाे पनि राईले अवगत गराए । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।
चीनमा रहँदा प्रधानमन्त्री ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औं वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । चीनमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपनि दुबै प्रधानमन्त्रीबीच औपचारिक वार्ता भएन । ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नेपालको लिपुलेकको बाटो भएर ब्यापार गर्न भारत र चीनले सहमति गरेसँगै नेपालले असन्तुष्टि जनाएको थियो । चीनमा ओलीले राष्ट्रपति सीसँग यस बारेमा कुरा उठाएको बताइएको छ ।