बजेटले निजी क्षेत्र र सेयर बजार निराश बनाएको भन्दै राप्रपा सांसद खुश्बु ओलीद्वारा सरकारको आलोचना

त्यस्तै बजेट सार्वजनिक भएदेखि नै सेयर बजारमा तीव्र गिरावट आएको भन्दै सरकारको आलोचना गरिन् ।


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक एवम् सांसद खुश्बु ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले को उत्साहित भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रश्न गरेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले सरकारले आगामी आवको लागि बजेट ल्याएपछि सेयर बजार उत्साहित नदेखिएको, निजी क्षेत्र उत्साहित नदेखिएको, उद्योगी व्यवसायी उत्साहित नदेखिएको, लगानीकर्तामा आत्मविश्वास नदेखिएको उनको भनाइ छ । “यस्तो अवस्थामा यो बजेटबाट उत्साहित भएको को हो र?” उनले प्रश्न गरिन ।

त्यस्तै बजेट सार्वजनिक भएदेखि नै सेयर बजारमा तीव्र गिरावट आएको भन्दै सरकारको आलोचना गरिन् । बजेटले अर्थतन्त्रमा सकारात्मक संकेत दिनुपर्नेमा उल्टो प्रभाव पारेको उनले बताइन् । “बजेट वक्तव्य सार्वजनिक हुनासाथ सेयर बजारमा तिब्र गिरावट देखियो । जुन आजका दिनसम्म कायमै छ । बजार थप घट्दै छ । बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्छ र पर्ने थियो । बजेटको प्रभाव प्रत्यक्ष रुपमा पुँजी बजारमा देखिन्छ तर यो देखिएन” उनले भनिन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको बताइन् । सार्वजनिक रूपमा आएका समाचारहरूको उल्लेख गर्दै उनले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि दबाब दिएको आरोपबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरिन् ।