तिहारको बिदामा पनि भन्सारमा बैंकिङ सेवा निरन्तर
राष्ट्र बैंकका अनुसार मालवस्तुको भन्सार जाँचपासका लागि आवश्यक पर्ने बैंकिङ सेवा तिहार बिदाभर निरन्तर उपलब्ध गराउनुपर्नेछ ।
काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि भन्सार नाकामा रहेका बैंकका शाखाबाट बैंकिङ सेवा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले मालवस्तुको भन्सार जाँचपास प्रक्रिया प्रभावित हुन नदिन बिदाका दिनमा समेत सेवा जारी राख्न बैंकहरूलाई निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै व्यापार सहजीकरण तथा वस्तुको आपूर्ति प्रणालीलाई नियमित राख्ने उद्देश्यले भन्सार कार्यालयमा रहेका बैंक शाखा खुला राख्न भनेको हो ।
राष्ट्र बैंकका अनुसार मालवस्तुको भन्सार जाँचपासका लागि आवश्यक पर्ने बैंकिङ सेवा तिहार बिदाभर निरन्तर उपलब्ध गराउनुपर्नेछ ।
सरकारले कात्तिक २२ देखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको छ । उक्त अवधिमा अन्य बैंकिङ सेवा बन्द रहे पनि भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट भने आवश्यक सेवा सञ्चालन हुनेछन् ।