अब नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग सानिमा बैंकका सबै शाखाबाट पाइने

विद्युतीय टोल संकलन प्रणालीले विशेषगरी सुरुङमार्ग प्रवेश गर्ने समयमा हुने सवारी चाप, लामो प्रतीक्षा र नगद भुक्तानीको झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीधनीले अब देशभरका सानिमा बैंकका जुनसुकै शाखाबाट एन–ट्याग लिन सक्ने भएका छन् । सुरुङमार्गमा विद्युतीय टोल संकलन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग बैंकले सबै शाखाबाट उपलब्ध गराउन थालेको हो ।

सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा विद्युतीय टोल संकलन प्रणाली लागू गरिएको छ । यस प्रणालीले सवारीसाधनलाई टोल शुल्क तिर्न लामो समय लाइनमा बस्नुपर्ने झन्झट हटाउनेछ । एन–ट्यागको प्रयोगबाट टोल शुल्क स्वतः भुक्तानी हुने भएकाले सुरुङमार्ग प्रवेश तथा निकास प्रक्रिया छिटो र सहज हुनेछ ।

सवारीसाधनको अगाडिको सिसामा एन–ट्याग स्टिकर टाँसेपछि सुरुङमार्गका प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले ट्याग स्वतः पहिचान गर्नेछन् । त्यसपछि ट्यागमा उपलब्ध मौज्दात रकमबाट टोल शुल्क स्वतः कट्टा हुनेछ र गेट खुल्नेछ ।

विद्युतीय टोल संकलन प्रणालीले विशेषगरी सुरुङमार्ग प्रवेश गर्ने समयमा हुने सवारी चाप, लामो प्रतीक्षा र नगद भुक्तानीको झन्झट कम गर्ने अपेक्षा गरिएको छ । यसबाट यात्रुहरूको समय बचत हुनुका साथै सुरुङमार्गको आवागमन थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

यसअघि एन–ट्याग प्राप्त गर्न काठमाडौं उपत्यकामा निर्भर हुनुपर्ने अवस्थालाई सहज बनाउँदै सानिमा बैंकले देशभरका शाखाबाटै सेवा उपलब्ध गराएको हो । यसले उपत्यका बाहिरका सवारीधनीलाई समेत सहज रूपमा एन–ट्याग लिन सक्ने सुविधा दिएको छ ।

त्यस्तै, एन–ट्यागमा रकम थप्नका लागि पनि विभिन्न डिजिटल माध्यम उपलब्ध छन् । सवारीधनीले इसेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङमार्फत ट्याग रिचार्ज गर्न सक्नेछन् ।